राष्ट्रियसमाज

प्युठानमा अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस विविध कार्यक्रम गरेर मनाइने

रविन विश्वकर्मा
प्युठान । प्युठानमा पनि अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाईने भएकाे छ । शनिबार जुम्रिमा बसेकाे राष्ट्रिय दलित पत्रकार संघ प्युठानकाे बैठकले मार्च २१ अर्थात चैत ७ गते विविध कार्यक्रम गरेर ५८ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाउने निर्णय गरेकाे हाे ।

 

दिवसकाे अवसरमा जिल्लामा जातिय भेदभाव उन्मुलनमा सञ्चारकाे भुमिका बिषयक अन्तरक्रिया र रक्तदान कार्यक्रमकाे आयाेजना गरिएकाे छ । चैत ७ गते बिहान जिल्ला अस्पताल बिजुवारमा रक्तदान कार्यक्रम गरेर साेही दिन दिउसो जुम्रीमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष लाेकेन्द्र सुनारले बताउनुभयो ।

 

नेपालकाे संविधानमा जातिय भेदभाव गर्न नपाईने स्पष्ट कानुनी व्यवस्था भएपनि पछिल्लो समय जातिय भेदभाव तथा छुवाछुतका घटना वृद्धि भइरहेको भन्दै समुदाय स्तरमा सचेतना जगाउन तथा दलित समुदायका अधिकारलाई सुनिश्चित गर्न अन्तरक्रिया कार्यक्रमकाे आयाेजना गरिएकाे उहाँको भनाइ छ। रक्तदान तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थिति सम्वद्व ब्यक्ति,निकाय तथा सराेकारवाला निकायहरुलाई उपस्थित हुन अध्यक्ष सुनारले आग्रह गर्नुभएकाे छ ।

 

संयक्त राष्ट्र संघले सन् १९६५ मा जातीय विभेद उन्मुलन सम्बन्धि महासन्धि पारित गरी जाति तथा रंगभेद उन्मुलन दिवसको रुपमा मनाउने घोषणा गरे पनि नेपालले भने सो महासन्धिलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो । तर यो दिवस भने सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ ।

 

यसवर्ष पनि जातिय भेदभाव अन्त्यका लागि देशैभर चेतना जगाउने उद्देश्यका साथ विभिन्न जिल्ला र ग्रामीण स्तरमा समेत विभिन्न कार्यक्रम आयोजना हुदैछन् । नेपाललाई वि.स. २०६२ र ६३ को जनआन्दोलन पछि पुनस्थापित संसदले २०६३ साल जेष्ठ १६ गते छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो ।

Related Articles

Back to top button