प्यूठान, २६ असोज । जिल्लामा हुने जवरजस्ती करणीका मुद्धाहरुमा बालिकाहरु धेरै पीडित रहेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानको पछिल्लो तथ्यांक हेर्दा बालिकाहरु माथि जवरजस्ती करणी सम्वन्धी मुद्धा दर्ता भएका छन् ।
यस आ.व.को साउन महिना यता परेको ६ वटा जवरजस्ती करणीको मुद्धामा ५ जना बालिका पीडित रहेको देखिन्छ । गत आ.व. २०७६/०७७ मा १८ वटा मुद्धा दर्ता भएकोमा १२ जना बालिकाहरु रहेका छन् ।
प्राय घटनाहरुमा चिनेजानेका तथा आफन्तहरुबाट नै भएको देखिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक पोषण ढकालले जानकारी दिनुभयो ।
हालको परिस्थितिमा धेरै जसो व्यक्तिहरुसँग स्मार्ट फोन रहेको हुँदा सामाजिक संजालमा अश्लिल भिडियो हेरी घटनामा संलग्न रहेको पाइएको उहाँको भनाई छ । “कतिपय अवस्थामा मादक पदार्थ सेवन गरेको कारण समेत घटनामा संलग्न भएको देखिन्छ” , उहाँले भन्नुभयो, “यस्ता घटनाहरुलाइ रोक्न समुदाय साझेदारी मार्फत विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रमहरु समुदाय स्तरमा संचालन गरिरहेका छौँ ।”
अघिल्लो आ.व २०७५/७६ मा बालिका जवरजस्ती करणीका ७ वटा मुदा दर्ता भएको तथ्याङ रहेको छ ।