प्युठान । ऐरावती गाउँपालिका-२ बरौलाबाट खलंगा(बुढाचौर) का लागि जन्ती लिएर लु ३ च ६८४७ नम्बरको स्कारपियो जीप बरौलाबाट गुड्दै थियो । जीप अगाडी जन्तिहरु नाच गान गर्दै हिडिरहेका थिए । मोति माबिको पुरानो भवन नजिकैको ओरालोमा स्कारपियोको अगाडिको टायर पन्चर भयो र गाडी अनियन्त्रित भएर दुर्घटना हुन पुग्यो ।
दुर्घटनामा मल्लरानी गाउँपालिका- ३ का ५२ वर्षीय दामोदर परियारको ज्यान गएको प्रहरी निरीक्षक हुमाकान्त खनालले जानकारी दिनुभयो । बिहान ११:२० मा दुर्घटनामा घाईते परियारको १२ :४५ मा जिल्ला अस्पतालमा ज्यान गएको उहाँले बताउनुभयो । मृतक परियार मल्लरानी-३ का वडा सदस्य समेत हुनुहुन्थ्यो ।
जन्ती बोकेको स्कारपियो गाडी दुर्घटनामा घाईते भएकाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । प्रहरी निरीक्षक खनालका अनुसार मल्लरानी गाउँपालिका-३ का २६ वर्षीय कृष्ण परियार, ऐरावती गाउँपालिका-२ का २५ वर्षीया करिश्मा सुनार, सोही ठाउँका ४० वर्षीया सृजना सुनार र राप्ती गाउँपालिका-५ का ३५ वर्षीया पिपला सुनारको उपचार भइरहेको हो । घाइतेको अवस्था सामान्य रहेको उहाँको भनाइ छ ।
