> राजनीति > गलत कामको समर्थन छैन : राष्ट्रिय जनमोर्चा


गलत कामको समर्थन छैन : राष्ट्रिय जनमोर्चा

प्यूठान, १२ बैशाख ।
गत आम चुनावमा गाणतन्त्र र धर्म निरपेक्षताको पक्षमा रहेका कारण नेकपा (एमाले) र नेकपा(माओावदी केन्द्र) को चुनावी मोर्चासँग तालमेल गरेपनि गलत कार्यको समर्थन नगर्ने जनाएको छ । राष्ट्रिय जनमोर्चाले प्रेस बक्तव्य जारी गरी अहिले पनि नेकपाको सरकारलाई समर्थन गरेको उल्लेख गर्दै निशर्त वा उनीहरुले गरेका गलत कामको लागि पनि समर्थन गर्ने भन्ने नभएको प्रष्ट पारेको छ ।
हामीले सरकारका गलत कार्य, नीति वा कार्यशैलीका बारेमा विरोध गर्दै आएका छौँ, प्रेस वक्तव्यमा भनिएको छ, दल विभाजन सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेशहरु गलत भएकाले तिनलाई फिर्ता गर्न माग गरेका थियौँ । अहिले ती दुवै अध्यादेशहरु फिर्ता गर्ने सरकारले निर्णय गरेको छ । त्यसलाई हामीले सही ठान्दछौं ।
सरकारले गरेका कतिपय गतिविधिले गणतन्त्रलाई खतरामा पार्ने जनमोर्चाको भनाई छ । अध्यादेशहरु जारी गर्ने सवाल, गुठी विधेयक, बामदेवलाई राष्ट्रिय सभामा लाने विषयमा आफ्नो पार्टीको सचिवालयको निर्णय अस्वीकार गर्ने, सेक्युरीटि प्रिन्टिङि प्रेस सम्बन्धी भ्रष्टाचार काण्ड वा अहिले कोरोना भाइरसको लागि सामग्री खरिद प्रक्रिया आदिमा सरकारले अपनाएका नीति वा कार्यशैली गलत भएको जनमोर्चाले जनाएको छ ।
सरकारले आफ्ना गलत नीति, कार्य र कार्यशैली सुधार गर्नुपर्ने जनमोर्चाको बुझाई छ ।
भारतीय सीमामा अलपत्र परेका, असंगठित क्षेत्र वा रोजगारी बन्द भएर विभिन्न ठाउँमा रोकिएका मजदुर वा अन्य व्यक्ति र राहत नपुगेको लक्षित वर्गमा राहत पुराउन वा उनीहरुको समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण गराएपनि सरकारले ध्यान नदिएको जनमोर्चाले जनाएको छ ।
जनमोर्चाले कोरोना संक्रमणलाई रोकथाम गर्न, उपचार गर्न र लकडाउन प्रभावकारी बनाउन राजनीतिक, प्रशासनिक, स्वास्थ्य, सुरक्षा अन्तर्राष्ट्रिय सम्बन्ध, स्थानीय निकायलाई एकताबद्ध र सशक्त परिचालन गर्नुपर्ने आवश्यकता औल्याएको छ । स्थानीय तहमा पनि लक्षित समुदायमा राहत सामाग्री नपुगेको वा त्यहाँ पनि अनियमितता भएका समाचारहरु आएका छन, बक्तव्यमा भनिएको छ, त्यसैले सबै राजनीतिक दलका प्रतिनिधि सहित परिचालन गरेर काम गर्नुपर्ने आवश्यकता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!