प्यूठान । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मनोनयन दर्ता भएकोमा एक जनाले फिर्ता लिएका छन् भने एक जनाको उम्मेदवारी खारेज भएको छ ।
आज हाम्रो नेपाली पार्टीबाट हरि पौडेलले मनोनयन फिर्ता लिनुभएको छ । प्रदेश क्षेत्र नम्वर २ मा उम्मेदवारी दर्ता गराउनुभएका पौडेलले बुधबार उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत विरेन्द्र प्रकाश खड्काले जानकारी दिनुभयो ।
यसअघि मनोनयन दर्तामा रित नपुगेको भन्दै प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका रामप्रसाद आचार्यको उम्मेदवारी खारेज भएको छ । यो सँगै जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका लागि कायम रहेका १६ जना उम्मेदवारको नामावली प्रकाशन गरेको सहायक निर्वाचन अधिकृत खड्काले जानकारी दिनुभयो ।
प्रतिनिधिसभातर्फ नेकपा (एमाले) बाट सूर्य थापा र गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलको उम्मेदवारी परेको छ । प्रदेश सभातर्फ क्षेत्र नम्वर १ मा एमालेबाट तुल्सीराम शर्मा र गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का कृष्ण अधिकारीको उम्मेदवारी परेको छ ।
प्रदेश क्षेत्र नम्वर २ मा नेकपा एमालेबाट हरि प्रसाद रिजाल र गठबन्धनबाट नेपाली कांग्रेसका सरोज थापा (रोज राणा) को उम्मेदवारी परेको छ ।
प्रतिनिधिसभा तर्फ दान प्रसाद सुवेदी र प्रदेश सभा क्षेत्र नम्वर २ मा माधव केसीले स्वतन्त्र उम्मेदवारी परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रतिनिधिसभामा होम बहादुर बुढाथोकीमगरले उम्मेदवारी दिनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेश क्षेत्र नम्वर १ मा गोपालनाथ योगी र प्रदेश क्षेत्र नम्वर २ मा लालविर घर्तिमगरले उम्मेदवारी दिनुभएको छ । नेकपा मालेबाट प्रतिनिधिसभा सदस्यमा माधवसिंह केसीले मनोनयन दर्ता गराउनुभएको छ ।
मंगोल नेशनल अर्गनाइजेशनबाट प्रतिनिधिसभामा मन बहादुर पुन, प्रदेश क्षेत्र नम्वर १ मा नुवा घर्तिमगर र क्षेत्र नम्वर २ मा रुपलाल बुढामगरको मनोनयन दर्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कृष्ण प्रसाद पोख्रेलले प्रतिनिधिसभामा उम्मेदवारी दिनुभएको छ ।