समाज

देउसी भैलो नखेल्न प्युठान प्रशासनको आदेश

प्युठान, २८ कार्तिक । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय प्युठानले दीपावली तथा छठ पर्व मनाउने क्रममा देउसी भैलो नखेल्न आदेश गरेको छ । प्रशासनले एक सुचना जारी गर्दै विभिन्न धार्मिक मठ मन्दिर तथा शक्तिपिठहरुमा नृत्य पुजाआजा बाहेकका सबै किसिमका धार्मिक कार्यहरु, देउसी भैलो, डल्ले सराय, चितिखोला, बड्हरा लगायतका ठाउँमा हुने सराय नाँच लगायतका जात्रा, मेला, खेलकुद नगराउन आदेश गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभयो ।
संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम जिल्लाभर लागुहुने गरी यो गर्न नगराउन आदेश गरिएको उहाँले बताउनुभयो । त्यस्तै चाडपर्वमा भिडभाड हुने भएकाले व्यवसायी तथा उपभोक्ताले सामाजिक दुरी कायम गर्ने, अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, साबुनपानीले नियमित हात धुने, सेनिटाईजर प्रयोग गर्ने तथा जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न समेत आदेश गरिएको छ । सार्वजनिक यातायात प्रा.लि. ले छोटो, मध्यम र लामो दुरीमा चल्ने सार्वजनिक यातायातका साधनहरुमा सिट क्षमता भन्दा बढी यात्रुहरु नराख्ने, स्वास्थ्य मापदण्डको पालना गर्ने, सवारीसाधनलाई सड्कको दायाँबायाँ जथाभावी पार्किङ्ग नगर्न समेत आदेश गरिएको प्रजिअ भुसालले बताउनुभयो ।
चाडपर्वको समयमा पेट्रोलियम पदार्थको नियमित आपूर्ति गर्न पेट्रोलियम व्यवसायिहरुलाई आग्रह गरिएको छ । अवैध मदिराको उत्पादन, ओसारपसार, विक्रि वितरण नगर्न तथा जुवा तास नखेल्न र गैर कानुनी चिठ्ठा उपहार नखोल्न समेत आदेश गरिएको उहाँले बताउनुभयो । जिल्ला प्रशासनले आदेश गरेका आदेशलाई अवेज्ञा गर्ने वा अपहेलना गर्ने संगै आदेश कार्यान्वयनमा बाधा अवरोध पु¥याउने व्यक्ति तथा संस्थालाई कानुन बमोजिम कार्वाही हुने समेत प्रजिअ भुसालले बताउनुभयो ।

Related Articles

Back to top button