> राष्ट्रिय > ८४ वर्ष पुगेकाे उपलक्षमा फजुल खर्च नगरी सामाजिक कार्य


८४ वर्ष पुगेकाे उपलक्षमा फजुल खर्च नगरी सामाजिक कार्य

प्युठान। मल्लरानी गाउँपालिका–४ खलङ्गाका एक दम्पतीले ८४ वर्ष पुगेको अवसरमा सामाजिक कार्य गरेका छन् । जुक्त प्रसाद पोख्रेल र धना कुमारी पोख्रेलको चौरासीको अवसरमा पर्यटकीय स्थल मल्लरानीमा ‘बाघमुखे चुलेसी’ को स्तम्भ निर्माण गर्नुभएको हो ।

 

प्युठानमा मात्रै बन्ने प्युठानी बाघमुखे चुलेसी लोप हुँदै गएको र त्यसको प्रतिक सहितको स्तम्भ निर्माण गरिएको छोरा डोर प्रसाद पोख्रेलले बताउनुभयो । पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको मल्लरानीमा परिवारको तर्फबाट बुवाआमाको चौरासी पुँजाको साटो सामाजिक कार्य गरेको उहाँले बताउनुभयो ।

 

मल्लरानीमा आराम गर्नका लागि कुर्चिको व्यवस्था र वरपिपल समेत रोपिएको पोख्रेलले जानकारी दिनुभयो । परिवारको सल्लाह अनुसार भोजभतेर र फजुल खर्च नगरी सामाजिक कार्य गरिएको उहाँको भनाई छ । निर्माण गरिएको संरचनाको संरक्षणका लागि पालिकालाई हस्तान्तरण गरिएको पोख्रेलले बताउनुभयो ।

 

बाघमुखे चुलेसीको स्तम्भ उद्घाटन गर्दै मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले पर्यटकीय क्षेत्र मल्लरानीमा व्यक्तिगत तर्फबाट भएको संरचना निर्माणले थप योगदान पुगेको बताउनुभयो । उहाँले पालिकाले मल्लरानीसम्म पुग्ने कालोपत्रे मोटरबाटो निर्माण गरेको र मल्लरानी क्षेत्रमा विभिन्न संरचना निर्माणको काम भइरहेको जानकारी समेत दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *