समाजराष्ट्रिय

विभिन्न पार्टी परित्याग गरी २१२ जना नेकपामा प्रवेश

प्यूठान, २२ कात्तिक। प्यूठानमा विभिन्न पार्टी परित्याग गरी दुई सय १२ जना व्यक्ति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले प्यूठान नगरपालिका वडा नं ८ बाग्दुलामा आयोजना गरेको नेपालीहरुको महान पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरु नेकपामा प्रवेश गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल प्यूठान नगरपालिका नगरकमिटी सचिव एवं सोही पार्टीको यूवक संगठनका जिल्ला अध्यक्ष महेश पाण्डेको नेतृत्वमा रा.प्र.पा, नेपाली काग्रेस र राष्ट्रिय जनमोर्चा पार्टी परित्याग गरी दुई सय १२ जना युवा तथा विद्यार्थी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानका संयोजक सुरज रोका मगरले जानकारी दिनुभयो । नवप्रवेशी युवा तथा विद्यार्थीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश कमिटीका कार्यदल सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य हरिप्रसाद रिजालले पार्टी सदस्यता दिई नेकपामा प्रवेश गराउनुभएको हो ।


हालसम्म काम गर्दै आएको पार्टीको नीति, सिद्धान्त मन नपर्नुका साथै पार्टी एकजुट नभई फुटेकोले नेकपासंग नजिक भई आफु सहित नगरपालिकाका विभिन्न वडाका युवा तथा विद्यार्थीहरुको एक समुह बनाई नेकपामा प्रवेश गरेको नवप्रवेशी एवं नेतृत्वकर्ता पाण्डेले बताउनुभयो । आजदेखि नेकपाको बफादार कार्यकर्ता भएको छु, उहाँले भन्नुभयो,–‘पार्टीको नीति र सिद्धान्त अनुसार अगाडी बढनेछौँ ।’
नवआगन्तुक युवा तथा विद्यार्थीलाई नेकपामा प्रवेश गराउदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश कमिटीका कार्यदल सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य रिजालले युवा विद्यार्थीहरु उदाउदो सूर्य भएकाले पृथ्वीको कुना कुनामा उज्यालो छर्ने बताउनुभयो । पार्टीलाई हरेक परिवेशमा युवाहरुको महत्वपूर्ण भूमिका हुन्छ, उहाँले भन्नुभयो,–‘तपाईहरुको उत्साह र साथले पार्टी समृद्ध बन्ने छ । ’ विगतका विभिन्न घट्नाहरुमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै प्रदेश सांसद रिजालले राज्यलाई समृद्ध बनाउन सदैव पार्टीको साथमा रहन आग्रह गर्नुभयो । हालका युवाहरु १० वर्षपछि विज्ञ हुनुहुन्छ, उहाँले भन्नुभयो,–‘त्यसपछि बल्ल जिल्ला समृद्ध बनाउन टेवा पुग्नेछ ।’

नवप्रवेशीलाई पार्टीको सिद्धान्त, गतिविधि, अनुशासन लगाएतका क्षेत्रलाई बुझेर अगाडी बढन समेत उहाँले आग्रह गर्नुभयो । हालको सरकारले युवाहरुलाई परिचालन गर्न, रोजगारी दिनका लागि धेरै कामहरु गर्दै आएको बताउँदै युवाहरुलाई देशमै केही गर्न सांसद रिजालले आग्रह समेत गर्नुभयो । कार्यक्रममा रिजालले नजिकिएको नेपालीहरुको महान पर्व दिपावली, छठ पर्वको अवसरमा सम्पूर्णलाई शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।


नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला अध्यक्ष तुल्सीराम शर्मा, सचिव कृष्ण अधिकारी(प्रकाश), जिल्ला कार्यदल सदस्य, सचिवालय सदस्य, जिल्ला कमिटी सदस्य, युवा संगठन, विद्यार्थी संगठन लगाएतको उपस्थितीमा शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम गरिएको थियो ।

Related Articles

Back to top button