प्यूठान, ६ जेठ । कोरोना संक्रमण विरुद्ध संयुक्त रुपमा लड्न नेपालले विश्व समुदाय समक्ष आग्रह गरेको छ ।
आज राती ७३ औं विश्व स्वास्थ्य महासभालाई भिडियो कन्फ्रेन्स मार्फत सम्वोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना विरूद्धको विश्व एकतालाई अझ प्रभावकारी बनाउदै महामारीका चुनौतीहरूलाई संयुक्तरूपमा सामना गर्न विश्व समुदाय समक्ष आग्रह गर्नुभएको हो ।
उहाँले निकै कठिन घडीबाट गुज्रीरहेका उल्लेख गर्दै, जहाँ धेरै जोखिम र अनिश्चितताहरू समेत रहेको महासभालाई बताउनुभएको छ । विश्वभरी महामारी विरूद्ध अंग्रपंक्तिमा रही निरन्तर खटीरहेका सम्पुर्ण स्वास्थ्यकर्मीहरू प्रति उच्च सम्मानका साथ मन्त्री ढकालले आभार व्यक्त गर्नुभएको छ ।
महामारीले सबल र सक्षम स्वास्थ्य प्रणालीको आवश्यकता र स्वास्थ्य सामग्रीहरूको आन्तरिक उत्पादनको महत्वलाई समेत उजागर गरेको मन्त्री ढकालले बताउनुभएको छ । उहाँले कोरोना विरुद्धको नेपाल सरकार प्रयासलाई सघन बनाउन सबैको सहयोगको अपेक्षा राख्नुभएको छ ।






