प्यूठान । विद्यार्थी, शिक्षक, अभिभावक तथा जनप्रतिनिधिहरूमा सकारात्मक सोच, अनुशासन र व्यवहारिक ज्ञानको विकास गर्ने उद्देश्यले प्यूठानको नौबहिनी गाउँपालिकामा दुईदिने व्यवहारिक उत्प्रेरणा कार्यक्रम सुरु भएको छ ।
कार्यक्रममा प्रार्थना व्यवस्थापन, सांगीतिक पीटी (शारीरिक व्यायाम) तथा विद्यार्थी, शिक्षक, अभिभावक र जनप्रतिनिधिहरूका लागि जीवनोपयोगी व्यवहारिक ज्ञानसम्बन्धी विभिन्न गतिविधि समावेश गरिएको छ । कार्यक्रमको सुरुवातमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले स्वागत मन्तव्य राख्नुभएको थियो ।
नौबहिनी गाउँपालिकाको आयोजनामा शुक्रबारदेखि बहाने स्थित गंगा माध्यमिक विद्यालयमा सुरु भएको कार्यक्रम गाउँपालिका अध्यक्ष दिलबहादुर थापाको अध्यक्षतामा उद्घाटन गरिएको हो ।
‘सिक्दै सिकाउँदै’ शैक्षिक राष्ट्रिय अभियन्ता तथा प्रशिक्षक हरिश वलीले कार्यक्रमको सहजीकरण गर्नुभएको छ । उहाँले सांगीतिक पीटी, व्यवहारिक अभ्यास तथा उत्प्रेरणामूलक प्रस्तुति मार्फत सहभागीहरूलाई सकारात्मक सोच, अनुशासन, जीवनोपयोगी सीप र व्यवहार परिवर्तनका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षक वलीको प्रस्तुतिमा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै विभिन्न अभ्यासमा हात उठाएर सक्रियता देखाएका थिए । उहाँका प्रेरणादायी तथा भावनात्मक प्रस्तुतिले सहभागीहरूलाई भावविह्वल समेत बनाएको थियो ।
कार्यक्रमले शिक्षालाई पाठ्यपुस्तक र सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी व्यवहार, अनुशासन, संस्कार र जीवनोपयोगी सीपसँग जोड्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रम शनिबारसम्म जारी रहनेछ । दोस्रो दिन थप व्यवहारिक अभ्यास, उत्प्रेरणामूलक प्रस्तुति तथा सिकाइ सम्बन्धी गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ ।











