प्यूठान । राम मन्दिर निर्माण सहयोगार्थ विजुवारमा सञ्चालित श्री राम कथा, गरुण पुराण, पितृमोक्ष, भक्तिज्ञान तथा यज्ञ महोत्सवको आम्दानी खर्च सार्वजनिक गरिएको छ ।
महोत्सवबाट कुल ३३ लाख ९२ हजार ९०७ रुपैंया आम्दानी भएको आयोजक संस्थाका सचिव शिवबहादुर पुलामीले बताउनुभयो । सचिवद्धारा प्रस्तुत प्रतिवेदन अनुसार रसिदबाट ३२ लाख ३६ हजार ०७, दानपत्रबाट १ लाख २ हजार १७५ र धान चामलबाट ३७ लाख ९२८ रुपैंया संकलन भएको छ ।
महोत्सव संचालनका लागि गुरुहरुलाई दक्षिणा ८ लाख ४४ हजार, टेन्ट भाडा ७ लाख, आन्तरिक व्यवस्थापनमा ३ लाख १३ हजार ३२, प्रचार प्रसार लगायत खर्चमा ५ लाख रुपैंया गरि कुल २३ लाख ५७ हजार ३२ रुपैंया खर्च भएको छ ।
महोत्सव संचालनबाट १० लाख ३५ हजार ८७५ रुपैंया वचत भएको र १ लाख ११ हजार १११ रुपैंया उठ्न बाँकी रहेको सचिव पुलामीले जानकारी दिनुभयो । विद्युत धरौटी वाफत १० हजार रुपैंया फिर्ता गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।
राम मन्दिर निर्माण कार्यको शिलन्यास सम्पन्न भएको र तत्काल निर्माण समिति गठन गरि निर्माण कार्य शुरु गर्ने महोत्सव संचालक समितिका संयोजक शालिग्राम पण्डितले जानकारी दिनुभयो ।
महोत्सव यही असोज १ गतेदेखि २५ गतेसम्म संचालन भएको थियो ।
संयोजक पण्डितको अध्यक्षतामा भएको खर्च सार्बजनिक कार्यक्रममा प्रमुख अतिथि प्यूठान नगरपालिका–४ का वडाध्यक्ष रेशम बहादुर कार्की रहनुभएको थियो । सचिवको प्रतिवेदन गुमानराज पुलामीले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको संचालन बयोबृद्ध एवं अनाथ संरक्षण मञ्चका सचिव रामेश्वर राजभण्डारीले गर्नुभएको थियो ।











