समाज

प्यूठानमा पोषण सुधार अभियान शुरु, १७ बुँदे प्रतिबद्धता

प्यूठान । जिल्लामा बालबालिकाको पोषण अवस्था सुधार गर्दै कुपोषण न्यूनीकरण गर्ने उद्देश्यले प्यूठानका ९ वटै स्थानीय तहका ६४ वटै वडालाई समेटेर १७ बुँदे ‘प्यूठान पोषण सुधार प्रतिबद्धता पत्र–२०८३’ जारी गरिएको छ ।

स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा सञ्चालित पोषण विशेष कार्यक्रम तथा विद्यालय स्वास्थ्य पोषण कार्यक्रम सम्बन्धी तथ्याङ्क विश्लेषण तथा अन्तरक्रिया कार्यक्रम र आर्थिक वर्ष २०८२/०८३ को पोषण वार्षिक समीक्षा सम्पन्न गर्दै प्रतिबद्धता पत्र जारी गरिएको हो ।

तीन दिनसम्म सञ्चालन भएको कार्यक्रमको अन्तिम दिन बिहीबार सहभागीहरूलाई दुई समूहमा विभाजन गरी जिल्लामा कुपोषणका वास्तविक समस्या, तिनका कारण र समाधानका उपायबारे छलफल गरिएको थियो । छलफलबाट पहिचान गरिएका समस्यालाई सम्बोधन गर्दै पोषण अवस्था सुधारका लागि स्थानीय तहले कार्यान्वयन गर्नुपर्ने प्राथमिकताका कार्य समेत तय गरिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख नरेशबाबु श्रेष्ठले बताउनुभयो ।

प्यूठानका करिब ४ प्रतिशत बालबालिकामा अति शीघ्र कुपोषणको समस्या रहेको उल्लेख कार्यलयले जनाएको छ । उक्त समस्या न्यूनीकरण गर्न बिरामी बालबालिकाको उचित व्यवस्थापन तथा उपचारमा जोड दिँदै प्रत्येक स्थानीय तहमा कुपोषण घटाउन तीन–तीन वटा प्राथमिकताका कार्य तयार गरी कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।

कार्यक्रममा जिल्लाका नौवटै स्थानीय तहको वडागत पोषण अवस्थाबारे विश्लेषणात्मक प्रस्तुति गरिएको थियो । साथै पोषण कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्न सबल पक्ष, कमजोर पक्ष, अवसर र चुनौतीको विश्लेषण गरिएको थियो ।

आर्थिक वर्ष २०८३/०८४ मा सञ्चालन गरिने पोषण कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक कार्ययोजना पनि प्रस्तुत गरिएको छ । समिक्षा बैठकले जिल्लाका सबै ६४ वडामा पोषण अवस्था सुधार गर्न आवश्यक काम, लक्ष्य र प्राथमिकता समेटिएको १७ बुँदे प्रतिबद्धता जारी गरेको हो ।

कार्यक्रममा प्यूठान नगरपालिका र स्वर्गद्वारी नगरपालिका तथा नौबहिनी, गौमुखी, झिमरुक, मल्लरानी, ऐरावती, माण्डवी र सरुमारानी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख, पोषण फोकल पर्सन, पोषणमैत्री स्वास्थ्य संस्था घोषणा उन्मुख स्वास्थ्य संस्थाका प्रमुख, प्यूठान अस्पतालका प्रमुख तथा फोकल पर्सन सहित २९ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय प्रमुख नरेशबाबु श्रेष्ठ, वरिष्ठ खोप अधिकृत मधुसुधन खड्का तथा वरिष्ठ अधिकृत एवं जिल्ला पोषण फोकल पर्सन पुष्कलप्रसाद श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रम व्यवस्थापन जनस्वास्थ्य अधिकृत प्रभा ज्ञवालीले गर्नुभएको थियो ।

जिल्ला पोषण फोकल पर्सन पुष्कलप्रसाद श्रेष्ठका अनुसार समीक्षा कार्यक्रमबाट प्राप्त निष्कर्ष र जारी प्रतिबद्धतालाई कार्यान्वयन गर्दै स्थानीय तहमा पोषण सम्बन्धी समस्या पहिचान, समाधान तथा कुपोषण न्यूनीकरणका प्रयासलाई थप प्रभावकारी बनाइनेछ ।

Related Articles

Back to top button