प्यूठान । चार वर्ष अघि सासुको हत्या गर्ने सौतेनी बुहारीलाई जिल्ला अदालत प्यूठानले पुर्पक्षको लागि कारागार पठाएको छ । अदालतको निर्णय अनुसार स्वर्गद्वारी नगरपालिका-६ कि ३२ वर्षीय चेती सुनारलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
२०७९ मंसिर १ गते बिहान साढे ६ बजे स्वर्गद्वारी नगरपालिका-६ डाँडाखर्क स्थित बारीमा स्थानीय ६३ वर्षीय धनी कुमारी सुनारको टाउकोमा गम्भीर चोट लागि रगताम्य भइ मृत्यु भएको अवस्थामा फेला परेको थियो ।
अदालतबाट पक्राउ पुर्जी जारी भई अनुसन्धान पछि अदालत पेश गरिएकोमा सौतेनी बुहारी नाता पर्ने चेतीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको प्रहरी निरीक्षक हरी भट्टराईले जानकारी दिनुभयो ।





