दाङ । पूर्व-पश्चिम राजमार्गको धानखोला-लमही खण्ड स्तरोन्नति कार्य औपचारिक रूपमा सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिलान्यास गर्नुभयो ।
यस सडक स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र सुपरपेभ आस्फाल्ट जस्ता अत्याधुनिक प्रविधि प्रयोग गरिने भएको छ । यी प्रविधिले पुराना सामग्री पुनःप्रयोग गर्दै सडकलाई बलियो, टिकाउ र वातावरणमैत्री बनाउने लक्ष्य राखेका छन् । यसबाट दीर्घकालीन रूपमा लागत घट्ने र सडक मर्मतको गुणस्तर बढ्ने अपेक्षा गरिएको छ ।
शर्मा कन्स्ट्रक्सन र कुमार निर्माण सेवा प्रालिले संयुक्त रुपमा निर्माण जिम्म्मा लिएको छ । निर्माण कम्पनीले भ्याटबाहेक दुई करोड आठ लाख अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) मा काम गर्ने जिम्मा लिएको छ ।
नेपाल सरकारको मापदण्डअनुसार स्तरोन्नति गरिने ४० किलोमिटर दुरीको सडकमा गाडी गुड्ने भाग ७ मिटर चौडा र दुवैतर्फ २.५–२.५ मिटर कालोपत्रे सोल्डर रहने गरी कुल १२ मिटर चौडाइ कायम गरिनेछ ।
गत पुस ७ गते एमसिए–नेपाल र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । सम्झौताअनुसार आयोजनाको निर्माण कार्य २४ महिनाभित्र सम्पन्न गर्नुपर्नेछ ।





