प्यूठान, १८ कात्तिक । जिवराज आश्रित र कृष्णसेन ईच्छुक मार्ग अन्तर्गत दाखाक्वाडी देखि सोत्रे सडकमा कालोपत्रेको कार्य सुरु भएको छ ।
प्यूठान नगरपालिका वडा नं २ को आयोजनामा आज वडा कार्यालयमा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, स्थानीयहरुको आम भेला गरि निर्माण कम्पनीलाई काम सुरु गर्न अनुमती दिईएको हो ।वडा नम्बर २ दाखाक्वाडी देखि सोत्रेसम्म जाने ५ किलोमीटर सडकखण्ड कालोपत्रे हुनेछ ।
चालु आर्थिक बर्षको सुरुमा नै कार्य सूरु गर्ने गरि सम्झौता गरिएपनी कोभिड १९ को कारण प्रभावित बनेकाले केही समयपछी काम सुरु गर्न लागिएको प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो ।
लुम्विनी प्रदेश सरकारबाट यो सडकमा कालोपत्रेका लागि करिब १६ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । गौरा–बंगलामुखी जेभिले दुई बर्षसम्ममा काम सक्ने गरि निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका प्रतिनिधि नारायण ज्ञवालीले बताउनुभयो । आजदेखि नै कामको सुरुवात गरिएको समेत उहाँले बताउनुभयो । सडक नाली सहित १० मिटरको हुनेछ ।
प्रदेश स्तर आयोजना भएकाले गुणस्तरीय सडक निर्माण गर्न निर्माण व्यवसायीलाई नगरप्रमुख कक्षपतिले आग्रह गर्नुभएको छ । २०२८ सालमा सडक खुलेपनि यो सडक हालसम्म कच्ची नै थियो । जिवराज आश्रित र कृष्णसेन ईच्छुक मार्ग अन्तर्गत यो सडक पाल्पाको रामपुरदेखी सल्याको कपुरकोट सम्म फैलने छ ।