> आर्थिक/बिकास > आर्थिक तरलताले निर्माण व्यवसायी मर्कामा : अध्यक्ष सिंह


आर्थिक तरलताले निर्माण व्यवसायी मर्कामा : अध्यक्ष सिंह

प्यूठान । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले मुलुकमा अहिले देखिएको आर्थिक तरलताले निर्माण व्यवसायी मर्कामा परेको बताउनुभएको छ । निर्माणमा उद्योग उद्योगहरुको पनि उद्योग भएकाले अहिलेको तरलताको समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने उहाँको भनाई छ ।

विकास खर्च हुन नसक्दा राज्यको ढुकुटी जम्मा भएर बसेको भन्दै उहाँले सरकारले विकास खर्च बढाउने भनेर भनेपनि त्यसलाई कार्यान्वयन गर्नतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो । निर्माण व्यवसायीहरु चलायमान हुनेबित्तिकै निर्माणसँग सम्वन्धित उद्योग, यातायात, मजदुर, बजार सवै क्षेत्र गतिशिल हुने उहाँले बताउनुभयो ।

 

निर्माण व्यवसायीले कानुन अनुसार योजना सम्झौता भएपछि मोविलेशन खर्च बापत २० प्रतिशत रकम पाउने प्रावधान कार्यान्वयन गर्न महासंघले सरकारलाई आग्रह गरेको बताउनुभयो । अध्यक्ष सिंहले खरिद ऐन र नियमावलीमा समस्या भएका कारण विकास निर्माणका योजना समयमै सम्पन्न हुन नसकिरहेको भन्दै त्यसको दोष निर्माण व्यवसायीले मात्र लिनुपरेको बताउनुभयो ।

कार्यक्रममा बोल्ने निर्माण व्यवसायीले विकास निर्माणको काममा ढिलासुस्ती हुने विषय निर्माण व्यवसायीसँग मात्र नजोडिएको भन्दै त्यसका लागि निति नियम निर्माणमैत्री नभएको बताउनुभयो । त्यसका लागि व्यवसायीहरुको छाता संगठनले पटक पटक प्रदेश सरकार, केन्द्र सरकारलाई सुझाव दिने काम गरिरहेको बताउनुभयो ।

 

कार्यक्रममा राजनीतिक दलका नेता तथा सरोकारवाला निकायले निर्माण व्यवसायी विकासको मेरुदण्ड भएकाले गुणस्तरीय र छिटो विकास निर्माणका योजनालाई सम्पन्न गर्नेतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्ति तथा संस्थालाई सम्मान तथा पुरस्कार प्र्रदान गरिएको थियो । संघले पत्रकार सुजल श्रेष्ठ, एलबी थापा, शम्शेर विक्रम जिसी, प्यार अलि खान, बासुदेव गिरी र बोम बहादुर परियारलाई सम्मान गरेको हो ।

 

कार्यक्रममा प्रगति प्रतिवेदन महासचिव शोभाराम न्यौपाने र आर्थिक प्रतिवेदन कोषाध्यक्ष नविन श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार विजयसिंह भारतीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *