प्यूठान । कृषक लोकराज पोख्रेलले गुनासो गर्नुभयो, स्थानीय कृषकले उत्पादन गरेको वीऊ स्थानीय सरकारले किन्दैन, बुटवल, भैरहवाबाट ल्याउँछ । वीऊ स्थानीय सरकारले किन्दिनुपर्यो ।
धान दिवसको अवसरमा आयोजित कृषक सम्मान कार्यक्रममा तरकारी जोन सञ्चालन समन्वय समितिका संयोजक समेत रहनुभएका पोख्रेलले प्रमुख अतिथी रहनुभएका प्यूठान नगरपालिका प्रमुख विष्णु योगीलाई हेर्दैअर्को गुनासो गर्नुभयो, खेती हुने ठाउँमा बस्ती बसाल्नु भएन, स्थानीय सरकारले पहल गर्नुपर्यो ।
किसानका धेरै समस्या रहेको र त्यसलाई समाधान गर्न नसक्दा कृषि क्षेत्रमा प्रगति हुन नसकेको प्रमुख अतिथी योगीले बताउनुभयो । उहाँले प्यूठान नगरपालिकाले आगामी वर्षको बजेटमा अघिल्लो वर्षको तुलनामा ३ गुणा बढी बजेट विनियोजन गरेको उल्लेख गर्नुभयो । उहाँले स्थानीय उत्पादनलाई पालिकाले खरिद गर्ने समेत बताउनुभयो । किसान लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना रहेको समेत उहाँको भनाई छ ।
कार्यक्रममा विशेष अतिथी मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले पालिका भित्रका बाझो जग्गा उपयोग गर्ने गरि नीति ल्याएको बताउनुभयो । जिल्लामा कृषि क्षेत्रमा काम गर्ने निकायसँग समन्वय र सहकार्य गर्दै आगामी दिनमा कार्यक्रम गरिने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले कृषि क्षेत्रको व्यावसायिकरण र बजारीकरण गरेर जिल्लालाई धान र तरकारीमा आत्मनिर्भर बनाउन सकिने उल्लेख गर्नुभयो ।
डिभिजन बन कार्यालय प्यूठानका प्रमुख शंकर प्रसाद गुप्ताले कृषि क्षेत्रसँगै बन क्षेत्रको सदुपयोग गरि आयआर्जन बढाउन सकिने बताउनुभयो ।
कार्यक्रममा अनुदानका लागि मात्र कृषि खेती गर्नेलाई रोक्ने गरि स्थानीय सरकारले अनुगमन गर्नुपर्ने कृषकको सुझाव छ ।







