प्यूठान । चालु आर्थिक वर्ष २०८१/०८२ सकिन दुई महिना मात्र बाँकी रहँदा प्यूठानमा विकास बजेट न्यून खर्च भएको छ । बैशाख मसान्तसम्मको तथ्यांक हेर्ने हो भने पुँजीगत बजेट तर्फ संघीय सरकार अन्तगत ३५ प्रतिशत र प्रदेश सरकार अन्तरगत ४३ प्रतिशत पुँजीगत बजेट खर्च भएको छ । समग्रमा यस्तो प्रतिशत देखिएता पनि विकासे कार्यालयहरुको खर्च भने कमजोर छ ।
संघीय बजेट अन्तरगत सडक डिभिजन कार्यालय प्यूठानले हालसम्म ३२ प्रतिशत खर्च प्रगति गरेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय प्यूठानका अनुसार कुल ५१ करोड ८६ लाख पुँजीगत खर्च मध्ये बैशाख मसान्तसम्म १६ करोड ७३ लाख २७ हजार ४४९ रुपैंया १५ पैसा खर्च भएको छ । खर्च भएको रकम मध्य १ करोड ९६ लाख ९४ हजार ३३६ रुपैंया बैशाख महिनामा मात्र खर्च भएको कोष नियन्त्रक दुर्गादत्त शर्माले बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन ईकाई प्यूठानले ३७ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको छ । कुल ४५ लाख पुँजीगत खर्च मध्य १६ लाख ६५ हजार ७४५ रुपैंया खर्च भएको छ ।
संघीय बजेट अन्तरगत गौमुखी गाउँपालिकाको ४ दश्मलव ३९ प्रतिशत खर्च भएको छ । कुल ६ करोड ९८ लाख ५८ हजार बजेट मध्य ३० लाख ५६ हजार ९५२ रुपैंया मात्र खर्च भएको छ ।
मल्लरानी गाउँपालिकाको ५ करोड ७४ लाख ८३ हजार १७० रुपैंया मध्य हालसम्म २ करोड १ लाख ४५ हजार ८९१ रुपैंया खर्च भई ३५ दश्मलव ७३ प्रतिशत वित्तिय प्रगति भएको हो । समग्र पालिकाको कुल बजेटमा चालु तर्फ ६५ प्रतिशत र पुँजीगत तर्फ २३ प्रतिशत खर्च भएको मल्लरानी गाउँपालिकाले जनाएको छ । भौतिक प्रगतिका कामहरु धेरै भएपनि भुक्तानी नभई सकेकोले पुँजीगत तर्फको खर्च कम देखिएको मल्लरानी गाउँपालिकाका लेखा अधिकृत कमानसिंह केसीले बताउनुभयो ।
संघीय बजेट अन्तरगत चालु खर्च तर्फ भने ८४ प्रतिशत प्रगति हाँसिल भएको छ । कुल ५ अर्ब २८ करोड ३२ लाख ४ हजार २६ रुपैंया मध्य बैशाख मसान्तसमम ४ अर्ब ४४ करोड ११ लाख ४३ हजार ८९८ रुपैंया २० पैसा खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय प्यूठानले जनाएको छ ।
प्रदेश सरकार अन्तरगत प्यूठान स्थित कार्यालयहरुले पुँजीगत तर्फ ४३ दश्मलव ६५ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेका छन् । कुल ९९ करोड ९३ लाख ५५ हजार पुँजीगत खर्च मध्य ४३ करोड ६२ लाख २९ हजार ६४२ रुपैंया ०६ पैसा खर्च भएको छ । जस मध्ये विकासे कार्यालयहरुको खर्च प्रतिशत भने न्यून छ ।
एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयले पुँजीगत तर्फ हालसम्म १३ प्रतिशत मात्र वित्तिय प्रगति हाँसिल गरेको छ । कुल ५२ लाख बजेट मध्य ७ लाख १ हजार ४२९ रुपैंया खर्च भएको तथ्यांकले देखाउँदछ । भवन निर्माणका लागि पर्याप्त बजेट प्राप्त नहुँदा काम गर्न नसकिएकाले पूँजीगत खर्च हुन नसकेको कार्यालय प्रमुख विनोद शर्माले बताउनुभयो ।
पुँजीगत खर्च तर्फ डिभिजन वन कार्यालयको २७ प्रतिशत, सामाजिक डिभिजन कार्यालयको २८ प्रतिशत, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको ३२ प्रतिशत, सडक पूर्वाधार कार्यालयको ४९ प्रतिशत, जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयको ४९ प्रतिशत बित्तिय प्रगति रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
ठेक्का मार्फत भैरहेका योजनाहरुको भुक्तानी भईनसकेको, जनशक्तिको अभाव लगायत कारण वित्तिय प्रगति सन्तोषजनक नभएको सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख पुण्यप्रसाद न्यौपानेले बताउनुभयो । कार्यालयको कार्यक्षेत्र प्यूठान सहित रोल्पा जिल्ला समेत हो ।
प्रदेश अन्तरगतका कार्यालयहरुको चालु खर्च ५६ दश्मलव ४७ प्रतिशत रहेकोछ । कुल ६१ करोड २५ लाख २० हजार कुल बजेट मध्य ३४ करोड ५९ लाख ३९ हजार ६६८ रुपैंया ६३ पैसा खर्च भएको हो ।
पालिकाहरुलाई प्राप्त हुने संघीय अनुदान तर्फ ७५ प्रतिशत वित्तिय प्रगति देखिएको छ । कुल ३ खर्ब २७ करोड ६५ लाख ३९ हजार रुपैंया मध्ये २ अर्ब ४५ करोड ९९ लाख ६८ हजार ६९० रुपैंया खर्च भएको छ ।
त्यसै प्रदेश अनुदान तर्फ ७३ प्रतिशत बजेट खर्च भएको छ । कुल २० करोड ५४ लाख ८३ हजार ८ सय मध्ये १५ करोड १३ लाख १३ हजार ४२० रुपैंया खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय प्यूठानले जनाएको छ ।
