प्यूठान । जिल्लाको पर्यटन प्रर्वद्धनका लागि ‘स्वर्गद्वारी’लाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्नेमा जोड दिइएको छ । लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्ले आयोजना गरेको ‘प्यूठान जिल्लामा दिगो पर्यटन विकासका सम्भावनाहरु’ विषयक गोष्ठीमा सहभागीहरुले जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र ‘स्वर्गद्वारी’ लाई प्राथमिकतामा राखेर अरु पर्यटकीय गन्तव्यको विकास गर्नुपर्ने धारणा राखेका हुन ।
स्वर्गद्वारीको महत्व देश तथा विदेशमा समेत रहेकाले त्यसको प्रचारप्रसारमा थप काम गर्नुपर्ने सहभागीको भनाई छ । पूर्वाधार विकाससँगै नीजि क्षेत्रको लगानी बढाउनका लागि तीनै तहका सरकारले काम गर्नुपर्ने सुझाव सहभागीले दिएका छन् ।
स्वर्गद्वारीलाई कोषको रुपमा सञ्चालन गर्नुपर्ने
कार्यक्रममा प्यूठान उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष इमानसिंह भारतीले स्वर्गद्वारीलाई कोषको रुपमा सञ्चालन गर्नुपर्ने माग राख्नुभएको छ । पशुपति क्षेत्र विकास कोष, लुम्विनि विकास कोष जस्तै स्वर्गद्वारीलाई पनि सोही प्रकारले वा अन्य तरिकाले व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि पहल थाल्न पर्यटन विकास परिषद्लाई आग्रह गर्नुभयो ।
११ वर्ष पहिले स्वर्गद्वारीमा केवलकार सञ्चालनको प्रक्रिया थालिएपनि स्वर्गद्वारी आश्रमले जग्गाको लागि सहमति नदिँदा काम हुन नसकेको भारतीले गुनासो गर्नुभयो । ‘आश्रमका कारणले नै अहिलेसम्म काम अघि बढ्न सकेको छैन,’ उहाँले भन्नुभयो,‘यस विषयमा राजनीतिक दल, स्थानीय सरकार, प्रदेश सरकारले गम्भीर रुपमा लिनुपर्छ ।’
कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख एवं प्रमुख अतिथी धरम बहादुर जिसी, सरुमारानी गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्मा, गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरी, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, यूठान नगरपालिका उपप्रमुख देवेन्द्र वर्मा लगायतले मन्तव्य राख्नुभएको थियो ।
पर्यटन विकास परिषदका कार्यकारी निर्देशक रामु जोशीले परिषदले गर्ने काम र आगामी योजनाको बारेमा जानकारी गराउनुभएको थियो । प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष पशुपति नारायण नकर्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष प्रमोद पोख्रेल र सञ्चालन महासचिव सन्देश आचार्यले गर्नुभएको थियो ।
