प्यूठान । जिल्लाका विभिन्न कृषकलाई कृषि क्षेत्रमा गरेको योगदान स्वरुप सम्मान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई प्युठानले आज कृषकलाई सम्मान गरेको हो ।
तरकारी नर्सरी खेती गर्ने प्यूठान नगरपालिका ३ का मुक्ति पोख्रेल, प्राङ्गारीक तरकारी खेती गर्ने प्यूठान नगरापालिका ३ का देवा सुवेदी, तरकारी सङ्कलन तथा बजारीकरण गर्ने प्यूठान नगरपालिका ८ का पदम बहादुर थापा, छिटो योजना सम्झौता र छिटो सम्पन्न गर्ने प्यूठान नगरपालिका ८ का रेखा सार्की, ड्रागन फ्रुटको खेती गर्ने प्यूठान नगरपालिका ४ का नविन कुमार श्रेष्ठलाई कार्यालयले सम्मान गरेको छ ।
त्यसैगरी चैते धान बढी फलाउने प्यूठान नगरपालिका २ का किशोर विष्ट, वर्षे धान बढी फलाउने ऐरावती गाउँपालिका ६ का इन्द्र बहादु थापालाई सम्मान गरिएको छ । विष्टले एक रोपनी खेतमा साढे ८ मुरी धान र थापाले एक रोपनी खेतमा ७ मुरी धान उत्पादन गर्नुभएको थियो ।
त्यसैगरी, धानको वीऊ उत्पादन गर्ने प्यूठान नगरपालिका २ का नरेन्द्र योगी, मेहनती कृषक मल्लरानी गाउँपालिका ५ का मान बहादुर पुन, व्यवसायिक तरकारी खेती गर्ने प्यूठान नगरपालिका ६ का तिलक बहादुर गुरुङ र कृषकहरुलाई सहजीकरण गर्ने प्यूठान नगरपालिका ९ का कृषक रविन्द्र भण्डारीलाई सम्मान गरिएको छ ।
जिल्लामा ६ हजार ५७५ हेक्टर क्षेत्रफलमा धान खेती गर्ने गरिएको छ । परियोजना कार्यान्वयन इकाई प्युठानका प्रमुख चुमानसिंह गिरीले धान उत्पादन बढाउन २ हजार ७९९ हेक्टर क्षेत्रफलमा चैते धान खेती गर्ने गरिएको बताउनुभयो ।

परियोजना सञ्चालन भएको ६ वर्षको अवधिमा १ हेक्टरमा ३ मेट्रिकटन उत्पादनबाट बढेर १ हेक्टरमा ४ दशमलव ८ मेट्रिकटन उत्पादन पुगेको कर्यालयको तथ्याङ्क छ ।









