> आर्थिक > नयाँ वर्षको २०८१ मा स्याउलिवाङको खलेसवाङमा पर्यटन महोत्सव हुने


नयाँ वर्षको २०८१ मा स्याउलिवाङको खलेसवाङमा पर्यटन महोत्सव हुने

प्यूठान । नयाँ वर्ष २०८१ को अवसर पारेर स्याउलिवाङको कोठिभिर काखमा अवस्थित खलेसवाङमा तेश्रो नौबहिनी–कोठिभिर कृषि, पर्यटन महोत्सव हुने भएको छ । कोठिभिर विकास केन्द्र नेपालको आयोजनामा २०८० चैत्र २९ गतेदेखि २०८१ बैशाख ३ गतेसम्म पाँच दिन महोत्सव चल्नेछ ।

ग्रामिण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिन लागिएको हो । यहाँको उत्पादनको बजारीकरणमा समेत महोत्सवले टेवा पुर्याउने कोठिभिर विकास केन्द्र नेपालका अध्यक्ष पूर्ण बुढामगरले विश्वास व्यक्त गर्नुभयो ।

महोत्सवले जिल्लाकै उच्च स्थानमा रहेको कोठिभिर, नौबहिनी र यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने नौबहिनी गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापाले बताउनुभयो । प्राकृतिक मनोरम दृष्यको अवलोकन गर्दै महोत्सवमा सहभागी हुन उहाँले आव्हान समेत गर्नुभयो ।

३६५९ मिटरको उचाईमा रहेको कोठिभिर अवस्थित छ । यो क्षेत्र प्यूठान, रोल्पा र बाग्लुङको सीमा क्षेत्र पर्दछ । यहाँबाट धौलागिरी हिम श्रृखला, सिस्ने हिमाल, जलजला, ढोरपाटन वन्यजन्तु संरक्षण क्षेत्र लगायतको अवलोकन गर्न सकिन्छ ।

महोत्सवमा खुला पुरुष भलिवल, खुला महिला भलिवल, खुला लोकदोहोरी, खुला धनुषवाण, खुला सामुहिक नृत्य, खुला एकल नृत्य, खुला पुरुष छेलो, खुला महिला छेलो र खुला हाजिरीजवाफ लगायतका प्रतियोगिता सञ्चालन हुनेछ ।

स्थानीय कला संस्कृति, झाँकीको प्रदर्शनी, राष्ट्रिय एवं स्थानीय कलाकारहरुको प्रस्तुती सहितको सास्कृतिक कार्यक्रम, स्थानीय उत्पादनमा आधारिक खाना तथा बस्तुको व्यापार हुने आयोजकले जनाएको छ । मुल्यमा एकरुपता कायम गर्न आयोजकले विक्रिहुने बस्तु तथा खाना खाजाको मुल्य समेत निर्धारण गरेको छ । स्थानीय चर्खे पिङ संचालनमा ल्याईनेछ भने सीसा जन्य बस्तुको प्रयोगमा निरुत्साहित गरिनेछ ।

नौबहिनी गाउँपालिका संरक्षक रहेको महोत्सवको सह–आयोजक नौबहिनी गाउँपालिका १ नं. वडा कार्यालय रहेको छ । २०७२ मा प्रथम महोत्सव, २०७४ मा दोश्रो महोत्सव संचालन गरिएको थियो । कोरोना तथा अन्य कारणले महोत्सवले निरन्तरता पाउन सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *