> समाज > पारस्परिक जवाफदेहिता परियोजना सकियो, नागरिक समाजकाे भूमिका अझ फराकिलाे


पारस्परिक जवाफदेहिता परियोजना सकियो, नागरिक समाजकाे भूमिका अझ फराकिलाे

प्यूठान । जिल्लामा सञ्चालन भएको पारस्परिक जवाफदेहिता परियोजना समापन भएको छ । सन् २०१७ मार्च १ देखि सञ्चालन भएको परियोजनाको आज औपचारिक रुपमा समापन गरिएको हो ।

 

युएसएआईडी, एफएचआई ३६० र मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस) को साझेदारीमा परियोजना प्यूठान सहित रोल्पा, रुकुम र सल्यानमा सञ्चालन भएको थियो ।

 

 

परियोजनाले मुख्यतया शिक्षा, स्वास्थ्य, कृषि र विपदको क्षेत्रमा पैरवी गर्दै आएको थियो । जिल्लामा विशेष गरि नौबहिनी गाउँपालिका र सरुमारानी गाउँपालिकामा परियोजनाको गतिविधि केन्द्रित रहेको जिल्ला कार्यक्रम अधिकृत पम्फा पन्तले बताउनुभयो । ती स्थानीय तहमा सुशासन र जवाफदेहितका लागि नागरिक र स्थानीय तहबीचको पारस्परिक जवाफदेहितमा जोड दिएर काम गरिएको उहाँको भनाई छ ।

 

परियोजनाले जिल्लामा रहेर नागरिक समाज सञ्जाल लगायत सरोकारवाला निकायसँग समन्वय गरि काम गरेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले जिल्ला स्तरीय नागरिक समाज सञ्जालसँग सहकार्य गरेर समितिले अनुगमन लगायतको काम गर्ने प्रतिवद्धता जनाउनुभयो । सुशासनका लागि परियोजनाले गरेको काम राम्रो भएको भन्दै उहाँले आगामी दिनमा सञ्जालले पैरवी गर्नुपर्ने उल्लेख गर्नुभयो ।

 

कार्यक्रममा हरप्लेसका अध्यक्ष सुनिता बुढाले परियोजना सकिएपनि आगामी दिनमा सञ्जाललाई दिगो रुपमा चलाउन सहयोग गर्ने बताउनुभयो । पछिल्लो समय नागरिक समाजको भूमिका फराकिलो बन्दै गएको भन्दै उहाँले एकल रुपमा वा संस्थागत रुपमा वकालत, पैरवी गर्न सकिने बताउनुभयो ।

 

गैसस महासंघ प्यूठानका अध्यक्ष एवं सञ्जालका अध्यक्ष नेत्रमणी आचार्यले पैरवाी गर्नका लागि नागरिक सक्षम हुनुपर्ने भन्दै नागरिकको क्षमता विकासका लागि अव आउने परियोजनाले काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन सचिव लोकेन्द्र सुनारले गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *