> आर्थिक > लघु उद्यमी सृजना गर्न उद्यमशिलता तालिम


लघु उद्यमी सृजना गर्न उद्यमशिलता तालिम

प्यूठान समाचार सम्वाददाता
प्यूठान, १ फागुन ।
गरीवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत नयाँ लघु उद्यमी सृजना गर्न महिला सहयोग मञ्च प्यूठानले उद्यमशिलता तालिम सञ्चालन गरेको छ । उद्यमी सृजनाका ६ चरणमध्ये दोस्रो चरण अन्र्तगत उद्यमशिलता तालिम सञ्चालन गरिएको महिला सहयोग मञ्च प्यूठानका अध्यक्ष पार्वता आचार्यले बताउनुभयो ।
उद्यमशिलता तालिममा व्यवसायको बारेमा जानकारी गराइन्छ । व्यवसाय सचेतता, व्यवसाय शुरु र लैंगिकतासम्वन्धी दुई चरणमा गरि ८ दिन तालिम सञ्चालन हुने आयोजकले जनाएको छ । उक्त तालिममा सहभागीले आफूले गर्ने व्यवसायको छनौट र व्यवसायीक योजना समेत तयार गर्ने गर्दछन् ।
कार्यक्रम अन्र्तगत सामाजिक परिचालन, उद्यमशिलता तालिम, सीप तालिम, उपयुक्त प्रविधिमा पहुँच, लघु वित्तमा पहुँच र बजारीकरणसम्म उद्यमीलाई सहयोग गर्ने गरिन्छ । यसअघि सामाजिक परिचालन अन्र्तगत पालिका स्तरीय अभिमुखीकरण, घरधुरी सर्वेक्षण, सहभागितात्मक ग्रामीण लेखाजोखा, समुह गठन लगायतका काम सकिएको अध्यक्ष आचार्यले बताउनुभयो ।
घरेलु तथा साना उद्योग विकास समिति प्यूठानको सहयोगमा मञ्चले जिल्लाका ऐरावती, सरुमारानी, माण्डवी, मल्लरानी गाउँपालिका र स्वर्गद्धारी नगरपालिकामा कार्यक्रम सञ्चालन गरेको छ । मल्लरानीको चुँजा, ऐरावतीको बरौला, सरुमारानीको छत्तिवन र बुढीचौर, माण्डवीको सिमलचौर र चिन, स्वर्गद्धारीको सारी र गोठिवाङमा कार्यक्रम गर्न ठाउँ छनौट भएर काम अघि बढाएको संस्थाले जनाएको छ । यस वर्ष संस्थाले दुई सय जना नयाँ उद्यमी सृजना गर्ने र एक सय १० जना पुराना उद्यमीलाई स्तरोन्नती गर्ने लक्ष्य लिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *