विचारस्थानीय सरकार

अलपत्र परेका मल्लरानीवासीलाई ल्याएर क्वारेन्टाईनमा राख्न तयार छौं

[mashshare]

अमरध्वज राना
अध्यक्ष
मल्लरानी गाउँपालिका, प्यूठान
स्वास्थ्य उपकरणहरु, व्यक्तिगत सुरक्षा सामाग्रीको अभाव देखिएको छ । लक डाउन लम्बिदै जाँदा थप राहत प्याकेजहरु ल्याउनुपर्ने आवश्यक छ । श्रोत कम भएकोले सहयोगका लागि सार्वजनिक अपिल समेत गरेका छौं ।

१) सरकारले लक डाउनलाई थप कडाई गरको छ ? त्यसका लागि मल्लरानी सरकारले कसरी काम गर्दैछ ?
लक डाउन कार्यान्वयनका लागि सवारी साधन संचालनमा रोक लगाईएको छ । चोक चोकमा जम्मा हुने भिडभाड रोक्न भनेका छौं । स्थानीय प्रहरी प्रशासनको सहयोगमा जनप्रतिनिधि, कर्मचारीहरु लक डाउनको कार्यान्वनमा क्रियाशिल हुनुहुन्छ । गाउँपालिकाका बैठकहरुलाई पनि कम गरेका छौं । आवश्यक खाद्यान्न, विरामी, गाउँपालिकाकाका अति आवश्यक काममा भन्दा बाहेक सवारी संचालन भएका छैनन् ।

गाउँ गाउँमा माईकिङ गरि सवैलाई घरबाट बाहिर ननिस्कनुस् भनेका छौं । हिँड्दा, बोल्दा टाढटाढा दुरी कायम गर्ने, ३ फिट टाढै रहने । एक अर्काको घरमा नजानोस् भनेका छौं । कतिपय वडाका जनप्रतिनिधि र कर्मचारीहरु घरघरै पुग्नुभएको छ । वडा नं. २ र ३ मा त्रिवेणी वचत तथा ऋण सहकारी संस्था र लालिगुराँस सहकारी संस्थाले कोरोना भाईरस सम्वन्धी सचेतनासँगै हातधुने तरिका बारे जानकारी गराउँदै सावुन वितरण गर्दा घरघरमै पुगेका छौं । कतिपय वस्तीहरुमा म आफै पनि पुगेको छु ।

पसल खोल्ने समय तोकेका छौं । क्राईसिस म्यानेजमेन्ट सेन्टर गठन गरेका छौं । सेन्टरको निर्णयले विहान ७ देखि ९ र साँझ ५ देखि ७ बजेसम्म पसलहरु खोल्ने समय तोकेका छौं । ठूला पसलहरुमा सामान लिन जाँदा भिडभाड नहोस् भनि एक मिटरको दुरीमा कायम गर्न घेरा बनाउन अनुरोध गरेका छौं ।

२) लक डाउनकै कारण समस्यामा परेका ज्यालादारी श्रमिक, असहायको पहिचान र राहत वितरण के कसरी हुँदैछ ?
संघीय सरकारको मापदण्ड अनुसार नै हामीले पनि मापदण्ड तयार गरी वितरण गरेका छौं । तुलनात्मक रुपमा कम संख्यामा वितरण गरेपनि परिमाण पुग्ने गरी दिएका छौं । वडाहरुबाट झण्डै ७०० घरपरिवारलाई वितरण गर्ने लिष्ट आएको थियो । तर नेपाल सरकारको मापदण्ड अनुसार सामाग्री पु¥याउन सक्ने अवस्था थिएन । अहिले नेपाल सरकार तथा प्रदेश सरकारले कुनै राहत कार्यक्रम घोषणा गरेका छैनन् । आर्थिक वर्षको अन्तिम तर्फ पनि छौं । पुँजिगत शिर्षकबाट खर्च गर्न मिल्दैन । चालु अन्तरगतको धेरै बजेट खर्च भैसकेको छ । तीन वटा कार्यक्रमबाट रुकमान्तर गरेर विपत्त कोषमा ९ लाख बजेटको व्यवस्था मिलाएका छौं । जनप्रतिनिधि र कर्मचारीहरुले अधिकृत स्तरसम्मकोले ५ दिन र खरिदार, सुब्बा स्तरकोले ३ दिनको पारिश्रमिक कोषमा सहयोग गर्ने निर्णय गरेका छौं ।

वडाबाट आएका लिष्टलाई करेक्सन गर्न लगायौं । २२४ परिवारलाई राहत दिने नामावली तयार ग¥यौं । एउटा परिवारले आफुलाई आवश्यक नपर्ने भन्दै लिनुभएन र जम्मा २२३ परिवारलाई वितरण ग¥यौं । वडा नं. १ मा ३३, वडा नं. २ मा ३८, वडा नं. ३ मा ४३, वडा नं. ४ मा ५५ र वडा नं. ५ मा ५४ परिवारलाई राहत वितरण गरिएको छ । ४ जना सम्मको परिवारलाई ३० किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ केजि नुन दिएका छौं । यस अन्तरगत १४९ घरपरिवार हुनुहुन्छ । ४ जना भन्दा बढि सदस्य भएको परिवारमा ४० किलो चामल, ढाई किलो दाल, १ लिटर तेल र १ केजि नुन ७४ परिवारलाई वितरण गरिसकेका छौं । सामाग्रीहरु कोटेशन मार्फत न्यूनतम मुल्यमा खरिद गरेका हौं । व्यवसायी साथिकै सहयोगमा प्रत्येक परिवारलाई एउटा साबुन थप गरिदिनु भएको छ ।

हामीसँग आर्थिक जोहो गर्दै छौं । छुटेका अन्य घरपरिवारहरुलाई पुरानालाई दोहोरो नपर्ने गरी मापदण्डमा रहेर दोश्रो चरणको प्याकेज वितरण गर्नेछौं ।

३) क्वारेन्टाइनको अवस्था के हो ? बाहिरबाट आएका कति हुन ? कति बसेका छन् ? किन बस्न मानेनन ?
मल्लरानी गाउँपालिकामा २७९ जना भारतबाट र ८ जना तेश्रो मुलुकबाट आउनुभएको छ । क्वारेन्टाईनमा कोहि छैनन । सबै होम क्वारेन्टाईनमा हुनुहुन्छ । तेश्रो मुलुक वा भारतबाट आउने वित्तिकै घरपरिवारसँग भेट नहुँदै राख्न सकियो भने राम्रो हुन्छ । घरपरिवार र गाउँघरमा सबैसँग भेट भैसकेपछि राख्नुको अर्थ भएन । घरको मान्छे विरामी प¥यो भने संकास्पद भएमा राख्ने हो । अहिले त्यस्तो अवस्था परेको छैन । हामीले पहिले नै १० वेडको क्वारेन्टाईन तयार गरेका छौं । त्यसलाई विस्तार गर्दै प्यूठान क्याम्पस र साविकको महिला तथा बालबालिका कार्यालयमा ३० वेडको र अन्य स्थानमा ३० वटा बनाउँदै छौं । वडा नं. १ को जनता मावि लुक्का, २ नं.को अमर मावि चुँजा र ३ को भानुभक्त मावि बर्बाेटमा तयार हुँदैछ । त्यहाँ सरसफाई, खानेपानी, विद्युतको तयारी भएको छ । भारतीय नाकाहरुमा अलपत्र परेका मल्लरानीवासीहरु आउनुभयो भने यी क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाउने गरी तयारी अवस्थामा छौं ।

स्वास्थ्य शाखा मार्फत प्रत्येक वडामा भएका स्वास्थ्य ईकाईहको निगरानीमा हुनुहुन्छ । त्यहाँ पनि वडा अध्यक्ष, स्वास्थ्यकर्मी सम्मिलित समिति छ । उहाँहरु आफ्नो आफ्नो क्षेत्रमा खटिईरहनु भएको छ । गौरिफन्टा नाका भएर आएका वडा नं. १ का एक जनालाई दाङको वेलझुण्डी पठाईएको छ । त्यस्तै वडा नं. ४ का वुवाछोरा विरामी परेपछि आईसोलेसनमा राखिएको छ । उनीहरुको स्वाव परीक्षणका लागि पठाईएको छ ।

कोरोनासँग मिल्ने लक्षण देखिएमा स्थानीय स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र खलंगामा खवर गर्न अनुरोध गरेका छौं । वडा कार्यालयहरुलाइ लिखित पत्राचार समेत गरेका छौं ।

४) अहिलेको महामारीमा जनताले स्थानीय सरकारको अनुभुती गर्न पाए त ? कसरी ।
तीन तहका सरकार मध्य स्थानीय सरकार नै जनताको नजिकको सरकार हो । भुगोलका हिसावले मल्लरानी गाउँपालिका सानो छ । हामी सवै ठाउँ पुगेका छौं । राहत घरघरमै पु¥यायौं । हामिले शुरुमै माक्स वितरण ग¥यौं । सयौंको संख्यामा । वडा नं. १ मा ९००, वडा नं. २ मा ८००, वडा नं. ३ मा १३००, वडा नं. ५ मा २५० र वडा नं. ४ मा हाम्रो राम्रो गु्रपको सहयोगमा ६०० माक्स वितरण गरेका हौं । यस्तै वडाहरुले पनि आफ्नो सक्रियतामा माक्स वितरण गर्नुभएको छ । घरदैलोमै पुगेर कोरोना भाईरसको संक्रमणका बारेमा जानकारी गराएका छौं ।

लक डाउनका कारण चुल्हो बोल्न समस्या भएकाहरुलाई खाद्यान्न वितरण गरेका छौं । अदक्ष ज्यामीहरुलाई बढि प्राथमिकता दियौं । दक्ष ज्यामी सीप भएका, भारत तथा तेश्रो मुलक भएकाहरुलाई भन्दा अदक्ष ज्यालादारी श्रमिकहरु बढि समस्यामा देखिएकोले यस्तो गरिएको हो । श्रोतको कमिका कारण पनि यसो गरियो । श्रोत थप भयो भने थप परिवारलाई उपलब्ध गराउने छौं ।

अहिले बालि भित्र्याउने समय भएकाले उचित सावधानिका साथ काम नरोक्न समन्वय गरेका छौं । कृषिमा आधारित कामहरुलाई नरोक्ने भनेका छौं । वडा भित्र वा वडा बाहिर पनि कृषिका काम गर्न सकिन्छ । त्यसका लागि जीप वा ट्याक्टर प्रयोग गर्न पनि सकिन्छ ।

५) यो महामारी नियन्त्रणका लागि स्थानीय सरकारलाई के सहयोग आवश्यक छ ?
हामी समस्यामा छौं । मैले अघि पनि भने पुँजिगतबाट खर्च गर्न नमिल्ने । बाटो, खानेपानीका योजनाहरु सम्पन्न भएका छन् । चालुबाट खर्च गर्न धेरै रकम खर्च भैसकेको छ । जनप्रनिनिधि २९ जना र अन्य कर्मचारीहरु पनि कम नै हुनुहुन्छ । महिला सामुदायिक लघुवित्त वित्तिय संस्थाले ३० हजार दिने वचन दिनुभएको छ । यो बाहेक हामीसँग अन्य श्रोत छैन ।

जसका कारण स्वास्थ्य उपकरणहरु, व्यक्तिगत सुरक्षा सामाग्री अभाव देखिएको छ । लक डाउन लम्बिदै जाँदा थप राहत प्याकेजहरु ल्याउनुपर्ने आवश्यक हुनसक्छ । त्यसका लागि श्रोत कम भएकोले सहयोगका लागि सार्वजनिक अपिल समेत गरेका छौं ।

प्रस्तुती कमल वि.क.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close