प्यूठान । नौबहिनी गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिकाले चालु आर्थिक वर्षमा सम्पादन गरेका गतिविधि, सेवा प्रवाह तथा विकास निर्माणका प्रगतिबारे जानकारी गराइएको थियो ।
सार्वजनिक सुनुवाइमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्ग वि.क.ले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन भएका गतिविधि तथा प्रगति समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन प्रस्तुति पछि सहभागीहरूले गाउँपालिकाको सेवा प्रवाह, विकास निर्माण तथा आगामी कार्यदिशासँग सम्बन्धित विभिन्न विषयमा प्रश्न, जिज्ञासा, सल्लाह तथा सुझाव राखेका थिए ।
सहभागीहरूले विशेषगरी पालिका केन्द्र बाहानेको फोहोरमैला व्यवस्थापन, बसपार्क निर्माण तथा व्यवस्थापन, शैक्षिक गुणस्तर सुधार, पालिका स्तरीय अस्पताल सञ्चालन, न्यायिक समितिबाट सम्पादन भएका मुद्दा, खेलमैदान, विकास योजनाको कार्यान्वयन, योजनाको गुणस्तर तथा प्रभावकारी अनुगमन, सार्वजनिक यातायात व्यवस्थापन लगायतका विषयमा प्रश्न उठाएका थिए।
त्यस्तै, क्षमता तथा सीप विकास तालिम, खानेपानी आयोजना, स्थानीय पाठ्यक्रम, भौतिक पूर्वाधार निर्माण तथा स्थानीय तहबाट प्रदान गरिने सेवाको प्रभावकारिता बढाउनुपर्ने विषयमा पनि सहभागीहरूले सुझाव दिएका थिए।
सहभागीका प्रश्न तथा जिज्ञासाको जवाफ गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापा, उपाध्यक्ष विष्णा थापा प्रमुख प्रशासकीय अधिकृत खड्ग वि.क. तथा सम्बन्धित वडाध्यक्षहरूले दिनुभएको थियो । जनताबाट प्राप्त सुझावलाई आगामी योजना तथा कार्यक्रम निर्माणमा समेट्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता उनीहरूले व्यक्त गरेका थिए ।
सार्वजनिक सुनुवाइबाट चारबुँदे प्रतिबद्धता
सार्वजनिक सुनुवाइ कार्यक्रमले गाउँपालिकाको विकास, सेवा प्रवाह तथा पूर्वाधार निर्माणसँग सम्बन्धित चारबुँदे प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
प्रतिबद्धता अनुसार संघीय तथा प्रदेश सरकारमार्फत सञ्चालन हुने आयोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्ने, गाउँपालिकाभित्र निर्माण हुने भौतिक संरचनालाई ज्येष्ठ नागरिकमैत्री, अपाङ्गतामैत्री तथा बालमैत्री बनाउने उल्लेख गरिएको छ ।
त्यस्तै, सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन सम्बन्धित निकायसँग समन्वय गर्ने, स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै उत्पादित वस्तुको बजारीकरणका लागि ‘कोसेली घर’ सञ्चालन गर्ने प्रतिबद्धता गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले समेत गाउँपालिकाको विकास, सेवा प्रवाह तथा जनअपेक्षाका विषयमा आफ्ना धारणा राखेका थिए । उनीहरूले सार्वजनिक सुनुवाइलाई औपचारिकतामा सीमित नराखी नागरिकबाट प्राप्त सुझाव तथा प्रश्नलाई नीति, योजना र बजेट कार्यान्वयनमा जोड्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको प्रारम्भमा भदौ १० गते रसुवा जिल्लामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दुई मिनेट मौनधारण गरिएको थियो ।
सार्वजनिक सुनुवाइले गाउँपालिका र नागरिकबीच प्रत्यक्ष संवादको माध्यमबाट सेवा प्रवाह तथा विकास निर्माणमा देखिएका समस्या पहिचान गर्नुका साथै आगामी दिनमा सुधार गर्नुपर्ने क्षेत्र समेत पहिचान गरेको छ ।





