विचारस्थानीय सरकार

होम क्वारेनटाईनमा बस्न लिखित सम्झौता गरेका छौं

[mashshare]

विष्णु कुमार गिरी
अध्यक्ष
गौमुखी गाउँपालिका, प्यूठान
मिल्दोजुल्दो लक्षण देखिए उपचारका लागि पठाउने हो तर लक्षण नदेखिएकाले पनि यसको संक्रमण फैलाउन सक्ने भएकाले तत्काल चेकअप पर्ने प्राविधिक समस्या हामीसँग छ ।

१) सरकारले लक डाउनलाई थप कडाई गरको छ ? त्यसका लागि गौमुखी सरकारले कसरी काम गर्दैछ ?
कोरोना भाईरस संक्रमणको शुरुदेखि नै सचेतनामा जोड दिएका छौं । सरकारले लक डाउन घोषणा गरेपश्चात स्थानीय स्तरमा यस बारेमा सचेतनाको काम गरिरहेका छौं । कटुवाल मार्फत हाक लगाउने, महिला स्वास्थ्य स्वयमसेविका, जनप्रतिनिधि, कर्मचारीहरु परिचालन गरि सबैलाई जानकारी गराउने गरेका छौं ।
अहिले खेतिवाली भित्र्याउने समय भएकाले सावधानि अपनाएर पारिवारिक रुपमा काममा जान भनेका छौं । ठूलो समुह नबनाउन सुझाव दिने गरेका छौं ।

२) लक डाउनकै कारण समस्यामा परेका ज्यालादारी श्रमिक, असहायको पहिचान र राहत वितरण के कसरी हुँदैछ ?
४८५ ज्यालादारी श्रमिक तथा असहायहरुलाई राहत वितरण गरेका छौं । असहाय बालबालिका, एकल महिला, बृद्धबृद्धा, आफ्नो उत्पादनले एक महिनापनि खान नपुग्नेहरुको पहिचान गरि लगत संकलन गरि खाद्यान्न सामाग्री वितरण गरेका हौं । ५ जना सदस्यसम्मको परिवारलाई १० केजि चामल, १ केजि चिनी, १ केजि नुन, १ लिटर तेल, १ केजि दाल र २ वटा साबुन वितरण गरेका छौं भने ५ जना सदस्यभन्दा माथिको परिवारलाई अन्य सामाग्री सहित १५ केजि चामल वितरण गरेका छौं ।

३) क्वारेन्टाइनको अवस्था के हो ? बाहिरबाट आएका कति हुन ? कति बसेका छन् ? किन बस्न मानेनन ?
हाम्रोमा पालिकाले स्थापना गरेको ५ वटा वेडको क्वारेन्टाईन सालिविसौनामा छ । त्यस्तै वडा कार्यालय खुङले ४ र लिवाङले २ वेडको क्वारेन्टाईन निर्माण गरेका छन् । गौमुखी गाउँपालिकामा ९६ जना भारत तथा तेश्रो मुलुकबाट आएका छन् । कोहि पनि पालिकाले स्थापना गरेको क्वारेन्टाईमा छैनन् । सबै होम क्वारेन्टाईनमा बसेका छन् । उनीहरु सामाजिक बहिष्करणको त्रासमा छन् । संभावित संक्रमणको जोखिमलाई ध्यान दिँदै स्थानीयहरु उनीहरुको नजिक नजाने भएकाले यस्तो त्रासले गर्दा क्वारेन्टाईनमा बस्न मान्दैनन् ।
हामीले भारत तथा तेश्रो मुलुकबाट आएकाहरुसँग सम्झौता गरेका छौं । स्वास्थ्य मन्त्रालयले पठाएको फम्र्याटमा परिवारका सदस्यसँग समेत टाढा हुने गरी होम क्वारेन्टाईनमा बस्न सम्झौता गरेका हौं । उनीहरुसँग स्वास्थ्यकर्मीले नियमित भेटघाट गर्ने र स्वास्थ्य अवस्था बारे जानकारी लिने गर्नुभएको छ । हामीसँग दुई वटा ‘गन थर्ममिटर’, ५० सेट प्लाष्टिक र कपडाको स्थानीय स्तरमै निर्माण गरेको व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई), १० सेट विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको पिपिई र स्वास्थ्य कार्यालय मार्फत प्राप्त ३ सेट पिपिई छन् । यिनै सुरक्षा सामाग्रीको प्रयोग गरि स्वास्थ्य अवस्थाबारे जानकारी लिने, विरामी भएकालाई औषधी उपचार गर्ने गरेका छौं । जोखिमपूर्ण केसहरु अहिले छैनन् ।

४) अहिलेको महामारीमा जनताले स्थानीय सरकारको अनुभुती गर्न पाए त ? कसरी ।
संकटको यस समयमा गौमखुीबासीहरुलाई जे समस्या पर्छ गाउँपालिकालाई खबर गर्नुहुन्छ र समाधानका लागि समन्वय गर्ने गरेका छौं, यसले के पुष्टि गर्छ भने गाउँसरकार जनताको साथमा छ । स्वास्थ्य उपचार, राहत, काम गर्न बाहिर निस्कनु प¥यो, अत्यावश्यक कामले आवतजावत गर्नुप¥यो जस्ता समस्याहरु आउने गरेका छन् । समस्यामा परेकाहरुको समस्या समाधान हुँदा उहाँहरुले स्थानीय सरकारको महसुस गर्नुभएको छ ।

५) यो महामारी नियन्त्रणका लागि स्थानीय सरकारलाई के सहयोग आवश्यक छ ?
कसलाई कोरोनाको संक्रमण छ भन्ने थाहा छैन । मिल्दोजुल्दो लक्षण देखिए उपचारका लागि पठाउने हो तर लक्षण नदेखिएकाले पनि यसको संक्रमण फैलाउन सक्ने भएकाले तत्काल चेकअप पर्ने प्राविधिक समस्या हामीसँग छ । छिटो चेकजाँच गर्न पाएमा सबैजना ढुक्क हुन सक्ने थियौं ।

नमुना सम्झौता फारम


प्रस्तुती : सागर रिजाल

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close