स्थानीय सरकार बनेपछि जनप्रतिनिधिको सक्रियताले गाउँगाउँमा विकास निर्माणको काम अघि वढेका छन् । जनप्रतिनिधिको सक्रियतामा शिक्षा स्वास्थ्य, खानेपानी, सडक लगाएतका पूर्वाधार निर्माणले गतिलिएको छ ।
लुम्बिनी प्रदेश भित्रको प्यूठान जिल्ला स्थित ९ स्थानीय तह मध्ये एक हो, स्वर्गद्धारी नगरपालिका । यस नगरपालिकामा ९ वटा वडा रहेका छन् । जसमध्ये साविक गोठिवांग गाविसको १,२,३,७,८र ९ वडा समेटेर ९ नम्वर वडा कायम रहेको छ । नगरपालिका भित्रका ९ वडामध्ये यस वडाको थोरै भाग समथर भएपनि धेरै जसो भूभाग दुर्गममा पर्छन् ।
यस वडाको बस्तीहरु लामाचौर, जुडापाटा, भचेनी, घण्टीखोला, छेडापोखरा, कालिपोखरी, दिवांग, डाडागाउ, सिम्ले, नाम्रीकोट, अम्लिसे, जुकेना लगायतका बस्ती पर्छन । दलित, जनजातिको बाहुल्यता रहेको यस वडामा ४ हजार ७ सय जनसंख्या रहेको छ । कृषि, पशुपालन र त्यसमा आधारित लघु उद्यमहरु यहाँको मुख्य आयश्रोतका क्षेत्र हुन् ।
९ नं. वडामा बालबालिकाको पठनपाठनका लागि माध्यमिक विद्यालय, प्राथमिक विद्यालय र बालविकास केन्द्र सञ्चालनमा छन् । गोठिवांग स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्रले यहाँका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् ।
राज्य पुनः संरचनासँगै २०७३ सालमा स्वर्गद्धारी नगरपालिकाको स्थापना भएको हो । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनले यस वडामा नर बहादुर बुढामगरले वडाको नेतृत्व गर्नुभएको हो ।
भौगोलिक रुपमा अप्ठ्यारो भएपनि स्थानीय सरकार बनेपछि गाउँमा विकासका कामहरु भएका छन् । वडाका अधिकांस वस्तीहरु सडक सञ्जालले जोडिएका छन । ग्रामीण बस्तीहरु सडक सञ्जालले जोडिएका छन् । नयाँ ट्रयाक खोलिएको छ भने कतिपय सडकको स्तररोन्नती गरिएको छ ।
यस स्वर्गद्धारी नगरपालिकाको ९ नम्वर वडामा मुख्यगरि जुडाँपाटा, अम्लिसे, डाँडागाउ, मगरी हुँदै स्वर्गद्धारी जोड्ने बाटो, छापडाडा ढाडपोखरा नयाँ ट्याक निर्माण, कालिपोखरी डाडागाउ मोटरबाटो, जुडापाटा खैरेनी मोटरबाटो, कुहिना वडा कार्यालय मोटरबाटो, दिवांग मोटरबाटो, गोठिवांग सिम्ले नयाँ ट्याक निर्माणको काम भएका छन् ।
यी योजनाहरुमध्ये कतिपयमा नयाँ ट्याक निर्माण गरिएको छ भने कतिपयमा स्तरोन्नती गरिएको छ । जसले नियमित सडक सुचारु गराउन सहयोग पुगेको छ ।
नगरपालिकाकै महत्वपूर्ण अभियान एक घर, एक धारा अन्तरगत यस वडामा पनि खानेपानी आयोजनाहरु संचालनमा छन् । जनताले वर्षौदेखी भोग्दै आएको खानीपानीको दुःख हटाउन वडाले विभिन्न निकायसँग समन्वय, सहकार्य गरेर खानेपानी योजनाको कामलाई प्राथमिकता दिएको छ । खानेपानीको सहज आपुर्ति नभएका बस्तीहरुमा लिफ्ट मार्फत खानेपानी सुविधा पुर्याइएको छ ।
यस वडामा नाम्रीकोट खानेपानी आयोजना, जुडापाटा खानेपानी आयोजना, लामाचौर लिफ्ट खानेपानी आयोजना, धरम्पा लिफ्ट खानेपानी आयोजना, कालिपोखरी लिफ्ट खानेपानी आयोजना, गोठिवांग खानेपानी आयोजना यहाँका मुख्य खानेपानी आयोजना हुन् ।
यस वडाको समथर भुभाग रहेको लामाचौर, जुडापाटा, भचेनी लगायतका ठाउँमा राम्रो कृषि उत्पादन हुने भएकाले यसका लागि सिंचाई पुर्वाधार अत्यावश्यक हुन्छ । सिंचाई सुविधाका लागि विभिन्न योजनाहरु कार्यान्वयन भई सिंचाई सुविधा उपलब्ध भएको छ । सिंचाई सुविधा भएपछि यहाँका स्थानीय तरकारी खेतीमा आकर्षित भएका छन् ।
स्वर्गद्धारी नगरपालिकाकै नमुना कुषि फर्म समेत यसै वडामा सञ्चालन भएको छ । जुन कृषि व्यवसाय गर्नेका लागि प्रेरणादायी र सफलताको उदाहरण समेत हो ।
प्राकृतिक रुपमा यहाँको गाउँ सिम्लेमा रक गार्डेन रहेको छ । जसलाई प्रचारप्रसारको माध्यमबाट पर्यटकीय गन्तव्य बनाउन सकिन्छ ।
वडा कार्यालयले बस्ती बस्तीमा विभिन्न योजनाहरु सञ्चालन गरेको छ । जसबाट स्थानीय लाभान्वित भएका छन र स्थानीय सरकारको अनुभुति गरेका छन् । भौगोलिक रुपमा विकट बस्तीमा योजना कार्यान्वयन गर्न समेत जनप्रतिनिधिले सक्रिय भएर काम गरेका छन् ।
खरको छाना विस्तापित गर्ने अभियान अन्तरगत यस वडामा रहेका खरका छानालाई हटाएर जस्तापाता लगाइएको छ । पानि चुहिने, आगलागीको डर हुने समस्या हटेपछि सर्वसाधारण खुशी छन् । उनीहरुले स्थानीय सरकारको अनुभुती गरेका छन ।
यस ९ नम्वर वडामा शर्प दंशका विरामीलाई उपचार गराउनका लागि अस्पताल निर्माण कार्य शुरु भएको छ । जुन अस्पतालबाट रोल्पा र प्यूठानका विरामीले उपचार सुविधा पाउनेछन् ।
पक्की पुल, झोलुंगे पुल, सडक, सञ्चार लगायतका सुविधाका लागि वडाले पहल गर्दै आएको छ । कतिपय योजना बनिसकेका छन भने कतिपय योजना बन्ने क्रममा छन् । जनताको नजिकको सरकार समेत भएकाले वडा कार्यालयले जनताको दैनिक सेवालाई प्रभावकारी रुपमा सेवा दिदै आएको छ ।
कृषकहरुलाई प्रोत्साहन गर्न वडा कार्यालयले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । कृषकलाई कृषि औजार, विऊ वितरण, खोर निर्माण लगायत सहयोग पुर्याएको छ । यसै वडामा व्यावसायिक रुपमा विभिन्न कृषि तथा पशुपंछी फर्महरु समेत सञ्चालन भएका छन् ।
वडाको विकासका लागि वडाले नगरपालिका, प्रदेश सरकार, केन्द्र सरकार लगायत विभिन्न निकायसँग समन्वय र सहकार्य गर्दै काम अघि बढाएको छ । जसले गर्दा यस वडामा विकास निर्माणले गति लिएको छ ।
स्थानीय तह बनेपछिको यस वडा कार्यालयले जनताका समस्या समाधानमा निरन्तर कामगर्दै आएको छ । पहिलो कार्यकालमै यस वडामा महत्वपूर्ण काम भएका छन् । आगामी दिनमा थप विकास निर्माणका लागि विकासको आधार तय भएको छ । यसका लागि जनप्रतिनिधिको सक्रियता र जनताको सहभागिताले सम्भव भएको हो । दुर्गम वडा भएर पनि जनताको दैनिकीलाई सहज बनाउन यस स्वर्गद्धारीको ९ नम्वर वडाले झण्डै पाँच वर्षमा महत्वपूर्ण काम गरेको छ ।