सुजल श्रेष्ठ
प्युठान। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्युठानका अनुसार जिल्लामा वार्षिक करीव ३१ हजार मेट्रिकटन चामल आवश्यक पर्छ । जिल्लाभर वार्षिक २८ हजार मेट्रिकटन धान उत्पादन हुन्छ । जसबाट २० हजार मेट्रिकटन चामल उत्पादन हुन्छ ।
यसरी हेर्दा वार्षिक करीव ११ हजार मेट्रिकटन चामल अपुग छ । जुन बाहिरी जिल्लाबाट निर्यात हुँदै आएको छ । जलवायु परिवर्तनको असरले गर्दा धान खेतीको उत्पादकत्वमा समेत कमी आएको परियोजनाका प्रमुख चुमानसिंह गिरी बताउनुहुन्छ ।
‘जलवायु परिवर्तनको असरले उत्पादन घट्दै गएको छ,’ उहाँले भन्नुभयो,‘२०/३० मुरी फलाउने किसानले २ मुरी मात्र उत्पादन लिन सकेको अवस्था पनि छ ।’ ‘जलवायु अनुकुलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा बृद्धि’ भन्ने नाराका साथ मनाईएको २० औं राष्ट्रिय धान दिवश कार्यक्रममा गिरीले कृषकले भोग्दै आएको समस्यालाई सहजीकरण गर्दै जानुपर्ने बताउनुभयो ।
एकीकृत कृषि तथा पशुपन्छी कार्यालयका प्रमुख भाष्कर पौडेलका अनुसार धानखेती गरिने क्षेत्रफलका हिसाबले नेपाल विश्वमा १७ औं स्थानमा पर्छ । तर धान उत्पादन हुने हिसाबले ६४ औं स्थानमा छ । कुल ग्राहस्थ उत्पादनको २० प्रतिशत हिस्सा कृषि क्षेत्रले ओगटेको भन्दै यसतर्फ सवैको ध्यान जान आवश्यक रहेको पौडेल बताउनुहुन्छ । उत्पादकत्वको हिसाबले देशभरको तुलनामा प्युठानको उत्पादकत्व बढी भएको समेत पौडेलले जानकारी दिनुभयो ।
बेलुवा बगरमा भएको कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी प्रदेश सदस्य तुल्सीराम शर्माले कृषि क्षेत्रलाई गर्व गर्नसक्ने क्षेत्रको रुपमा विकास गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले सवै सरोकारवाल निकाय एकवद्ध भएर किसानका समस्या समाधान गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
प्युठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीले धान उत्पादनमा प्यूठान नगरपालिका जिल्लाकै प्रमुख क्षेत्र भएको बताउँदै यसलाई अझ बढी उत्पादनमा लैजानुपर्ने बताउनुभयो । अहिले झिमरुक फाँटलाई जोगाउने की बस्ती विकास गर्ने भन्ने विषयमा चर्चा चलिरहेको भन्दै सवै सरोकारवालाको ध्यान जानुपर्ने बताउनुभयो ।
अखिल नेपाल किसान महासंघका लुम्बिनी प्रदेश सचिव मुक्ति पोख्रेलले दिवशको अवसरमा बाँझो जमिनमा रोपाईँ गरिएकोमा खुशी व्यक्त गर्दै कृषि क्षेत्रको विकासका लागि सवैको सहयोग आवश्यक पर्ने बताउनुभयो ।
प्युठान नगरपालिका-१ का वडा अध्यक्ष साधना रावतले आफ्नो वडाको कृषि भुमीलाई कृषि भुमिकै रुपमा वर्गीकरण गरिएको बताउनुभयो ।
