> स्थानीय सरकार > स्वर्गद्धारी नगरपालिकामा सम्पन्न भयो नमुना युवा नगरसभा


स्वर्गद्धारी नगरपालिकामा सम्पन्न भयो नमुना युवा नगरसभा

प्यूठान । स्वर्गद्वारी नगरपालिकाका युवाले नमुना युवा नगरसभा सञ्चालन गरेका छन् । नगरपालिका भित्रका युवाहरु सहभागी भएर नगरसभाको शैद्धान्तिक र प्रयोगात्मक अभ्यास गर्दै नगरसभा सञ्चालन गरेका हुन् ।

युवाहरुले सञ्चालन गरेको नगरसभाको स्वर्गद्धारी नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगायतले अवलोकन गरेका थिए । कार्यक्रम समापनमा बोल्दै नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले युवाहरुले सञ्चालन गरेको नमुना नगरसभाको प्रयोगात्मक अभ्यास राम्रो भएको बताउनुभयो । उहाँले युवाहरुलाई क्षमता विकास गरेर आगामी दिनमा थप सक्रिय हुन आग्रह गर्नुभयो ।

 

कार्यक्रममा ६ नम्वर वडाका वडा अध्यक्ष गिर बहादुर गुरुङले समाज परिवर्तनका लागि सचेत युवाहरुको आवश्यकता रहेको बताउनुभयो ।

 

वडा नम्वर ५ का वडा अध्यक्ष हिरामणी भण्डारीले युवाहरुको सहभागितामा गरिएको यो कार्यक्रम नमुना कार्यक्रम भएको बताउनुभयो ।

 

पालिका स्तरीय खेलकुद समितिका संयोजक निपेन्द्र रोकायले युवाहरुको क्षमता विकास आवश्यक रहेको बताउनुभयो ।

 

राष्ट्रिय युवा परिषद् जिल्ला युवा समिति प्युठानको समन्वयमा कार्यक्रम गरिएको हो । समितिका अध्यक्ष रामचन्द्र केसीले शिक्षा, व्यक्तित्व र सीपको विकास गर्दै युवालाई व्यवसाय, स्वरोजगार र आत्मनिर्भर बनाउने उदेश्य सहित कार्यक्रम गरेको बताउनुभयो । युवाहरुको सहभागितामा राष्ट्रलाई समृद्ध बनाउन विभिन्न कार्यक्रम अघि बढेको उहाँले बताउनुभयो । जिल्लामा स्वर्गद्धारी नगरपालिकामा मात्र यो कार्यक्रम छनौट भएको छ । यो कार्यक्रम जिल्लाभर विस्तार गर्नुपर्ने उहाँको भनाई छ ।

कार्यक्रमका प्रशिक्षक अशोक खनालले नमुना युवा नगरसभा अभ्यासमा सहभागीहरु आगामी निर्वाचनमा निर्वाचित हुने गरि अघि बढ्न तालिमले क्षमता विकास गरेको बताउनुभयो । आगामी दिनमा स्वर्गद्धारी नगरपालिकाले यो कार्यक्रमलाई निरन्तरता दिन समेत उहाँले सुझाव दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *