> राष्ट्रिय > गौमुखी क्षेत्रमा २१७ प्रजातीका ४ हजार ५ सय ३८ चरा अभिलेख


गौमुखी क्षेत्रमा २१७ प्रजातीका ४ हजार ५ सय ३८ चरा अभिलेख

प्यूठान । गौमुखी गाउँपालिकामा चरा विज्ञहरुले बैज्ञानिक पद्धत्तिबाट गरेको अध्ययनले २ सय १७ प्रजातिका ४ हजार ५ सय ३८ वटा चराहरू अभिलेख गरेको छ । २०८१ साल असोज र २०८२ साल बैशाख महिनामा अध्ययन गरिएको हो ।

 

गौमुखी गाउँपालिकाको सहयोग र हिमाली अनुसन्धान केन्द्रको समन्वयमा गरिएको अध्ययन प्रतिवेदन एक कार्यक्रममा सार्वजनिक गरिएको हो । वि.सं. २०८१ असोजको सर्वेक्षणमा मंगोलियाबाट जाडो याममा बसाई सरी आउने विश्वकै दुर्लभ गोमायु चिल र नेपालको आकाश हुँदै दक्षिण जाने क¥याङ–कुरुङ सारस पनि अभिलेख भएको छ ।

 

२०८२ सालको बैशाखमा गृष्मकालीन आगन्तुक चराहरु आठ प्रजातिका कोइली, दुई प्रजातिका मुरलीचरा, स्वर्गचरी, सुनचरी, कस्तुरा, चाँचरजस्ता चरा भेटिएका छन् । ती चराहरु नेपालमा बच्चा कोरल्न बसाइँ सरी आउँछन् । अध्ययनको क्रममा भेटिएका २ सय १७ प्रजातिका चराहरुमध्ये ९९ प्रजातिका चरा संरक्षण महत्वका भएकोले गौमुखी क्षेत्र चराको लागि अत्यन्तै महत्वपूर्ण क्षेत्र भएको पुष्टि गरेको अनुसन्धानकर्ता चरा बिज्ञ कृष्ण भुसालले बताउनुभयो ।

 

यस क्षेत्रमा नेपालका ९ प्रजातिका संरक्षित चरामध्ये दुई प्रजाति चिर कालिज र मुनाल पाइन्छन् । त्यसैगरी विश्वमै दुर्लभ पाँच प्रजाति डङ्गर गिद्ध, सुन गिद्ध, सेतो गिद्ध, गोमायु महाचिल र चिर कालिज पनि अभिलेख गरीएको भुसालले जानकारी दिनुभयो ।

 

राष्ट्रिय रूपमा संकटापन्न अवस्थामा रहेका १७ प्रजाति, ४ प्रजाति सीमित क्षेत्रमा मात्र पाइने, ६९ प्रजाति खास प्रकारको भूगोलमा मात्र पाइने र ३१ प्रजाति साइटिस सूचीमा सूचीकृत चराहरु यस क्षेत्रमा भेटिनुले गौमुखी क्षेत्रको गरिमा झन् बढेको छ । यस क्षेत्रमा लोपोन्मुख हिमाली गिद्ध र हाडफोर गिद्धको गुँड भएको पुष्टि भएको छ । चराहरू मात्र होइन, यस अध्ययनले ८ प्रजातिका पुतली, ५ प्रजातिका माछा, ४ प्रजातिका उभयचर, ८ प्रजातिका सरिसृप र १८ प्रजातिका स्तनधारी जनावरहरूको उपस्थिति अभिलेख गरेको छ, जसले यस क्षेत्रको समग्र जैविक सम्पदा झल्काउँछ ।

 

यस अध्ययनले गौमुखी वन संरक्षण क्षेत्र घोषणको लागि थप सहयोग गरेको छ भने चरा तथा जैविक विविधता क्षेत्र बनाउन बलियो आधार मिलेको छ । यस कार्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व राख्नेछ । यसले ग्रामीण पर्यटन, वैज्ञानिक अनुसन्धान, वातावरण संरक्षण र पर्यापर्यटन प्रवर्धन सँगै स्थानीय समुदायको जीविकोपार्जन तथा दिगो विकासका लागि पनि सम्भावनाको ढोका खोलेको पालिकाका उपाध्यक्ष महाविर रानाले बताउनुभयो ।

 

गौमुखी गाउँपालिका जैविक विविधता, प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाको समन्वय भएको एउटा अद्वितीय गन्तव्य हो । गौमुखी पुग्ने जो कोहीले पनि यहाँबाट प्रेरणा, साहसिकता र प्रकृतिसँगको गहिरो सम्बन्ध प्राप्त गर्न सक्छ । गौमुखी क्षेत्र प्रकृति, संस्कृति र पर्यटनको संगम खोज्ने जो–कोहीका लागि एक अनिवार्य भ्रमणस्थल हो ।

 

गौमुखीमा स्वच्छ हावा लिंदै, मनोरम दृश्यावोलकन गर्दै, चराको चिरबिर आवाज सुन्दै, उकाली ओराली हिड्नको लागि ‘हाइकिङ’ तथा ‘ट्रेकिङ्ग’को प्रचुर सम्भावना छ । प्रकृतिमात्र होइन त्यहाँको भूगोल, समाज, संस्कृति र जनजीवन बुझ्न तथा सिक्न पनि यो ठाउँ एक उपयुक्त गन्तब्य बन्न सक्छ । अर्खाको लाटो नाच देशै मौलिक नाचको रुपमा रहेको छ । प्राकृतिक, सांस्कृतिक, पुरातात्विक, धार्मिक, ऐतिहासिक सम्पदाका साथै जैविक विविधतामा अनुपम गौमुखी मध्यपहाडी क्षेत्रको वन, वन्यजन्तु, वातावरण र सामाजीक अध्ययनको क्षेत्रमा रुची राख्नेहरुका लागि खुला प्राकृतिक विश्वबिद्यालय हो ।

 

गौमुखी क्षेत्रका चरा, जैविक विविधता र प्रचुर पर्यटकीय सम्भाव्यतालाई उजागर गर्दै दिगो उपयोग, प्रवर्धन गर्दै समग्र पालिकाको समृद्धिका लागि गौमुखी गाउपालिकाले ध्यान दिएको प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम पोडेलले जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *