> राष्ट्रिय > खाद्य स्वच्छताबारे चेतना अभाव, सचेतनामुलक कार्यक्रम गर्न आवश्यक


खाद्य स्वच्छताबारे चेतना अभाव, सचेतनामुलक कार्यक्रम गर्न आवश्यक

प्यूठान । खाद्य स्वच्छता, गुणस्तर तथा लेवल सम्वन्धी अन्र्तक्रिया कार्यक्रम मल्लरानी गाउँपालिकामा आज सम्पन्न भएको छ ।

 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके नेपालगञ्जको आयोजनामा जिल्ला समन्वय समिति प्यूठानमा सरोकारवालाहरुबीच अन्र्तक्रिया कार्यक्रम गरिएको हो ।

गुणस्तरीय खाद्यवस्तुको उत्पादन तथा उपभोग बढाउने उदेश्यले सचेतनामुलक कार्यक्रम आयोजना गरिएको खाद्य अनुसन्धान अधिकृत प्रतीक्षा श्रेष्ठले बताउनुभयो । उहाँले यस विषयमा धेरैलाई जानकारी नभएको भन्दै जानकारीमुलक कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

 

कार्यक्रममा बजार अनुगमन, गुणस्तर जाँच, लेवलिङ, प्याकेजिङ लगायत विषयमा अहिलेको समस्या र समाधानका उपायको बारेमा छलफल भएको थियो । सहभागीले खाद्य स्वच्छता, उपभोक्ता अधिकार, कानुन, निति नियमका बारेमा अनविज्ञताका कारण समस्या भएको भन्दै त्यसको समाधानतर्फ राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।

जिल्लामा रहेका उद्योगहरुले अनुज्ञापत्र लिनका लागि, ल्याव टेष्ट गर्नका लागि नेपालगञ्जको कार्यालय पुग्नुपर्ने समस्या रहेको भन्दै त्यसले गर्दा उद्योगहरुले अनुज्ञापत्र नलिएरै उद्योग चलाइरहेको सहभागीले बताएका थिए ।

 

कार्यक्रममा मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले आफ्नो पालिकाले बजार अनुगमन गरिरहेको बताउँदै त्यसमा प्राविधिकको अभावले गर्दा प्रभावकारी हुन नसकेको बताउनुभयो । उहाँले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले प्राविधिक सहयोग उपलब्ध गराएमा बजार अनुगमन नियमित गर्न पालिका तयार रहेको बताउनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख खेम बहादुर थापाले घरेलु कार्यालयले गत वर्ष खाद्य स्वच्छता सम्वन्धी कार्यक्रम गरेपछि जिल्लाका कतिपय उद्योगले अनुज्ञापत्र लिन थालेको बताउनुभयो । यस वर्ष पनि त्यसप्रकारको कार्याक्रम गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *