> आर्थिक/बिकास > टमाटरले चिनिएको मर्कावाङ ‘स्मार्ट कृषि गाउँ’ बन्दैः नेतृत्व गर्दै सभासद अधिकारी


टमाटरले चिनिएको मर्कावाङ ‘स्मार्ट कृषि गाउँ’ बन्दैः नेतृत्व गर्दै सभासद अधिकारी

प्यूठान, २३ असोज । माण्डवी गाउँपालिका–२ मर्कावाङ टमाटर उत्पादन हुने गाउँको रुपमा परिचित छ । वर्षौदेखि यहाँका किसानले टमाटर खेती गर्दै आएका छन् । उनीहरुले उत्पादन गरेको टमाटरले मर्कावाङ गाउँलाई जिल्ला भित्र तथा छिमेकी जिल्लामा समेत चिनाएको छ ।

अहिले टमाटर उत्पादन हुने गाउँको रुपमा परिचित मर्कावाङ ‘स्मार्ट कृषि गाउँ’ बन्ने अभियानमा अगाडी बढेको छ । पाँच नम्वर प्रदेश सरकारको कार्यक्रम र स्थानीय सरकारको सहयोगमा यहाँका किसान ‘स्मार्ट कृषि गाउँ’ कार्यक्रम कार्यान्वयनका लागि अघि बढेका हुन् ।
जिल्लाको १ नम्वर निर्वाचन क्षेत्र अन्र्तगत यस गाउँ छनौटमा परेको हो । यहाँको टमाटर खेतीलाई आधुनिक रुपमा विस्तार गरि गाउँलाई स्मार्ट बनाउने योजना अघि बढेको वडा अध्यक्ष तुल बहादुर थापाले बताउनुभयो । “कार्यक्रम कार्यान्वयनका लागि काम शुरु भएको छ” उहाँले भन्नुभयो, “किसान छनौट र समिति गठनको काम सम्पन्न भएका छन् ।”

‘स्मार्ट कृषि गाउँ’ कार्यक्रमको नेतृत्व सभासद नारायण प्रसाद अधिकारीले गर्नुभएको छ । उहाँको नेतृत्वमा समिति गठन भैसकेको छ । “यहाँ वार्षिक डेढ सय टन बढी टमाटर उत्पादन हुन्छ, उहाँले भन्नुभयो, “जसको अझै पनि आधुनिक र व्यावसायिक उत्पादन हुन सकिरहेको छैन ।” कार्यक्रमले कृषकले गर्दै आएको टमाटर खेतीलाई आधुनिक र व्यावसायिक बनाउँदै गाउँलाई नै ‘स्मार्ट’ बनाउने योजना रहेको सुनाउनुभयो ।

कार्यक्रमका लागि वडा भित्रका पनि चार वटा मुख्य टोल छनौट भएका छन् । साविक मर्कावाङ गाविसका रातामाटा, काभ्रे, धनचौर र मर्कावाङ क्षेत्र छनौट गरिएको छ । जहाँ सिंचाई सुविधा र व्यावसायिक रुपमा खेति गरिदै आएको छ । कार्यक्रम छनौट भएपछि स्थानीय समेत उत्साहित भएका छन् ।

चार वर्षसम्म सञ्चालन हुने कार्यक्रमका लागि प्रदेश सरकारले ६० लाख रुपियाँ र स्थानीय सरकारले दश लाख रुपियाँ रकम लगानी गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिसिर रिजालले जानकारी दिनुभयो । प्रदेश सरकारसँग कार्यक्रम माग गरे बमोजिम कार्यक्रम सञ्चालन हुन लागेको उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारले बनाएको कार्यविधि अनुसार काम अघि बढ्ने रिजालको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *