प्यूठान । जिल्लाका १२ जना उद्यमीलाई सम्मान गरिएको छ । सातौ उद्योग दिवसको अवसरमा विहीबार घरेलु तथा साना उद्योग कार्यालय प्यूठानले उत्कृष्ट १२ जना उद्यमीलाई सम्मान गरेको हो ।
झिमरुक हर्वल सावुन उद्योगका दुर्गा केसी, शाह बाख्रापालन फर्मका राई बहादुर शाह, खोलाकोट लघु उद्यमी समुहका रुमापुनु, गतिशिल कृषि समुहका शान्तराज आचार्य,थकाली अल्लो कपडा उद्योगका जुकमला शेरचन , भुवनेश्वरी दालमोठ उद्योगका तेज बहादुर खड्का सम्मानित हुनुभएको हो ।
त्यसैगरी, प्यूठान झलल बल्ब उद्योगका सुर्य बहादुर थापा, न्यू ड्राइभ सी.एम.ई.भी इन्टरलक इटा उद्योगका रणसिंह रसाइली, गौमुखी सस तथा चाउमिन उद्योगका शरद रोका गौमुखी कागज उद्योगका देवका कवर, नमुना चाउमिन तथा सस उद्योगका मायादेवी श्रेष्ठ र लक्ष्मी पाउरोटी उद्योगका राजु गुरुङलाई कार्यक्रममा सम्मान गरिएको हो ।
उद्यमीलाई लगनशिल बन्न आग्रह
कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले उद्यमीहरुको प्रर्वद्धनका लागि विभिन्न कार्यक्रम ल्याएको बताउँदै लगनशिल भएर उद्योग व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले उद्यमीका लागि नयाँ र राम्रा कार्यक्रम सरकारले ल्याएकोले त्यसबारे उद्यमीलाई जानकारी गराउन घरेलु कार्यालयले प्रचारप्रसारलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । स्थानीय तहसँग समन्वय गरेर कार्यक्रम गर्न प्रजिअ भुसालले आग्रह गर्नुभयो ।
विशेष अतिथी प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतीले सरकारले उत्कृष्ट उद्यमीलाई सम्मान गरेको खुशी व्यक्त गर्नुभयो । “सरकारले राम्रो उद्यमीलाई सम्झिन्छ्” उहाँले भन्नुभयो, “साना उद्योगबाट नै ठूला उद्योग बन्ने हो ।” उहाँले पछिल्लो समय अल्लोका कपडा भारतबाट आउने गरेको भन्दै उद्यमीले गुणस्तर र मुल्यमा प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्नेमा जोड दिनुभयो । त्यसका लागि प्रविधिको प्रयोगमा जोड दिनुपर्ने उहाँको भनाई छ ।
घरेलु तथा साना उद्योग महासंघ प्यूठानका अध्यक्ष राम पहाडीले कानुनी तथा व्यवहारीक रुपमा उद्यमीलाई अहिले पनि अप्ठ्यारो भइरहेको बताउनुभयो । विकेन्द्रिकृत शासन प्रणाली लागु भएपनि कतिपय स्थानीय तहमा समस्या रहेको उहाँको भनाई छ ।
उद्यमी दुर्गा केसीले उद्यमीले समस्याका बीच उद्यम गरिरहेको बताउनुभयो । सम्मानित भएपछि बोल्दै उहाँले भन्नुभयो, “समस्या धेरै छन्, समस्याकाबीच उद्योग सञ्चालन गरिरहेका छौं ।” उत्पादन भन्दा बजारको समस्या रहेको उहाँले बताउनुभयो ।
स्वरोजगारमुलक कार्यक्रम, नविकरणमा छुट
कार्यक्रममा कार्यालय प्रमुख खेम बहादुर थापाले नेपाली नागरिकलाई सैलुन सञ्चालनका लागि तालिम तथा प्राविधिक सहयोग लगायतका विभिन्न स्वरोजगारमुलक कार्यक्रम यस वर्ष सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।
त्यसैगरी आर्थिक वर्ष ०७५/०७६ सम्म नविकरण नभएका उद्योगलाई ९० प्रतिशत छुट सहित यहि पुस मसान्तसम्म नविकरण गर्ने म्याद रहेको जानकारी गराउनुभयो ।
कार्यक्रमको सञ्चालन उद्यम विकास सहजकर्ता संगीता नेपालीले गर्नुभएको थियो ।
