प्यूठान । आर्थिक अभावले १० कक्षाभन्दा माथी पढ्न नसक्ने बालबालिकालाई ‘ड्रिम हन्ड्रेड’ नामक संस्थाले सहयोग गर्ने भएको छ । आर्थिक अभावले कलेज पढ्न कठिनाई भएका बालबालिकालाई संस्थाले छात्रवृत्ति उपलब्ध गराएर सहयोग गर्ने अभियान अगाडी बढाएको छ ।
के हो ‘ड्रिम हन्ड्रेन’
‘ड्रिम हन्ड्रेन’ एक गैर सरकारी संस्था हो । ऐरावती गाउँपालिका निवासी सुवास शाहले यो संस्थाको स्थापना गर्नुभएको हो । शाहले आफ्नो विवाहमा संकलन भएको दक्षिणाबाट एक हजार डलर सहयोग गरि कोष स्थापना गर्नुभएको हो । यो संस्थामा शाहको श्रीमती अमृता सेना, ऐरावती गाउँपालिकाकै हिमाल भुसाल, प्यूठान टारीका सन्देश सुवेदी लगायतको स्वयंसेवक संलग्न रहेका छन् ।
प्यूठानका १०० जना विद्यार्थीले छात्रवृत्ति पाउने
यो अभियान अन्र्तगत सन २०२५ सम्म प्यूठानका १०० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने लक्ष्य रहेको सुवास शाहले जानकारी दिनुभयो । “आर्थिक अभावकै कारण बालबालिकाले पढ्नबाट बञ्चित हुन नपरोस् भन्ने उदेश्य हो,” सफ्टवेयर इन्जिनियरको रुपमा अमेरिकामा कार्यरत उहाँले भिडियो कन्फ्रेस मार्फत भन्नुभयो,“हाम्रो सानो सहयोगको सदुपयोग गरि बालबालिकाले आफ्नो सपना पुरा गर्नेछन् ।”
यो वर्ष कक्षा ११ का लागि १६ जना विद्यार्थीले छात्रवृत्ति पाएका छन् । छनोट समितिका संयोजक खडानन्द पौडेलका अनुसार जिल्लाभरबाट १९ जनाले मात्र आवेदन दिएका थिए । त्यसमध्ये १६ जना छनौटमा परेका हुन् । जिल्लाका माध्यमिक विद्यालयका शिक्षकहरुसँग समन्वय गरि आवेदनबारे जानकारी गराएपनि पहिलो पटक भएकाले थोरै मात्र आवेदन परेको हुनसक्ने उहाँको भनाई छ ।
छनौटमा परेका विद्यार्थीलाई सम्मान
संस्थाले यसवर्ष छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीलाई सम्मान सहित बधाई दिएको छ । सोमबार जुम्रीमा एक कार्यक्रम आयोजना गरि संस्थाले १६ जना विद्यार्थीलाई सम्मान गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्यले सरकारले निःशुल्क शिक्षा लागु गरेपनि कार्यान्वयन हुन नसक्दा समस्या भइरहेको बेला यो संस्थाले थालेको अभियानले आर्थिक अवस्था कमजोर भएका विद्यार्थी लाभान्वित हुने बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख शिवराज पण्डितले कार्यक्रमले जिल्लाको शिक्षा क्षेत्रको विकासमा योगदान दिने बताउनुभयो । कार्यक्रममा बोल्ने शिक्षक, अभिभाव र विद्यार्थीले यो अभियान राम्रो भएको बताएका थिए । कार्यक्रमको बारेमा हिमाल भुसालले जानकारी गराउनुभएको थियो ।
संस्थाले आगामी दिनमा थप कार्यक्रम अगाडी बढाउने योजना बनाएको छ । विभिन्न व्यक्तिहरुबाट स्वेच्छिक सहयोग संकलन गरेर यो अभियान बढाएको संस्थाले जनाएको छ ।
