प्यूठान । नेकपा माओबादी केन्द्रका उपाध्यक्ष तथा पुर्व उपराष्ट्रपति नन्दकिशोर पुनले पार्टीले जिम्मेवारी दिए राष्ट्रपतिको जिम्मेवारी लिने बताउनुभएको छ । एकमुठी सास रहँदासम्म जनताको निम्ति लड्ने कम्युनिष्ट सदस्यको रुपमा सपथ लिएकोले राजनितिमा फर्किएको उहाँको भनाई थियो ।
देशको परिवर्तनको लडाईमा जीवन त्यागेर लागेको र अहिलेको बचेको जीवन संयोगको भएको भन्दै उहाँले संसद र मन्त्रीका लागि मरिहत्ते गर्न राजनितिमा नआएको स्पष्ट पार्नुभयो ।
शनिवार प्यूठानको जुम्रीमा प्रेस सेन्टर नेपाल प्यूठानले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले साम्यवादी गणतन्त्रमा ईटा थप्न राजनितिमा फर्किएको उल्लेख गर्नुभयो । सुरक्षा नीतिको ब्यबस्थाले सुरक्षा सुबिधा बाहेक राज्यबाट कुनै सुबिधा नलिएको उहाँको भनाई थियो ।
राजाबादीका नाममा प्रतिक्रान्तिका गतिविधिहरुको बेलुन फुटिसकेको भन्दै उहाँले गणतन्त्रको रक्षाका लागि समाजबादी मोर्चा निर्माण गरिएको उल्लेख गर्नुभयो ।
शिक्षकहरुका जायज माग सम्बोधन गरि बैज्ञानिक शिक्षाका लागि छिटोभन्दा छिटो शिक्षा विद्ययक संसदबाट पास गर्न उहाँले सरकारसँग माग गर्नुभयो ।
सरकारले गरेका सुशासन विरुद्धका गतिविधिहरुमा भण्डाफोर र जनबिरोधी कामको जनतालाई सचेत गराउने अभियानमा पार्टीका काम केन्द्रित गरेको उहाँको भनाई थियो ।
पार्टी उपाध्यक्षको जिम्मेवारीमा फर्किए पछि नयाँ वर्षदेखि अभियानमा जोडिएर पार्टीको काममा लागेको उहाँले जानकारी दिनुभयो । पार्टीले बिगतमा गरेका गल्ती कमजोरीहरु सच्चाउने प्रतिबद्धता जनाए पछि जनतामा माओबादीप्रति बिश्वास बढाएको उहाँको दाबी थियो ।
