> समाज > प्यूठानका किशोरीहरुमा रक्तअल्पता परीक्षण गरिने


प्यूठानका किशोरीहरुमा रक्तअल्पता परीक्षण गरिने

प्यूठान । विद्यालय स्तरमा अध्ययनरत किशोरीहरुको रक्तअल्पता परीक्षण गरिने भएको छ । जिल्ला स्तरीय योजना तर्जुमा कार्यक्रमले किशोरीहरुमा रक्तअल्पता परीक्षण गर्ने योजना तय गरेको हो ।

विद्यालयमा अध्ययन गर्ने १० देखि १९ वर्षसम्मका किशोरीहरुमा रक्तअल्पता परीक्षण गरिनेछ । एक पालिका एक माध्यमिक विद्यालयका ३ हजार ३७६ जनामा परीक्षण गर्ने लक्ष्य लिइएको छ । उक्त परीक्षणमा रगतमा हेमोग्लोविन मात्र परीक्षण हुन्छ । हेमोग्लोविन बन्नको लागि आइरन चाहिन्छ । शरीरलाई चाहिने मात्रामा हेमोग्लोविन बन्न नसक्दा रगतको रङ पिक्का हुन्छ । यस्तो अवस्थालाई रक्तअल्पता भनिन्छ ।

 

स्वर्गद्धारी नगरपालिकाको उमामहेश्वरी मावि सारी, माण्डवी गाउँपालिकाको गणेश मावि तिराम, सरुमारानी गाउँपालिकाको सरस्वती मावि चाभा, ऐरावती गाउँपालिकाको जनता मावि विजुली, मल्लरानी गाउँपालिकाको जनजागृति मावि कसेरी, झिमरुक गाउँपालिकाको प्रभाव मावि आहालखोला, गौमुखी गाउँपालिकाको खरा मावि रजवारा, नौबहिनी गाउँपालिकाको अन्धनासक मावि लिघा र प्यूठान नगरपालिकाको जनता मावि बाग्दुला विद्यालय छनौट गरिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

 

यस आर्थिक वर्षमा यो कार्यक्रममा २ पटक संचालन हुनेछ । पहिलो चरण यहि कार्तिक र मंसिर महिनामा र दोश्रो चरण बैशाखा र जेठ महिनामा संचालन हुनेछ । पहिलो चरणमा परीक्षण गरिएका किशोरीहरुमा नै दोश्रो चरणको परीक्षण गरिने स्वास्थ्य कार्यालय प्यूठानका जनस्वास्थ्य अधिकृत सदिक्षा पोख्रेलले जानकारी दिनुभयो ।

 

गतवर्ष प्यूठानका १८ सामुदायिक विद्यालयमा अध्ययनरत ३ हजार ५९९ किेशारीमा जाँच गर्दा २६ दश्मलव ४४ प्रतिशत किशोरीहरुमा रक्तअल्पता देखिएको थियो ।

 

रक्तअल्पता भएमा आइरन, फोलिक एसिड तथा भिटामिन बी दिइन्छ । हरियो सागसब्जी, लौका, घिरौला, रातो मासु, फलपूmल आइरनको मुख्य श्रोत हो ।