प्यूठान,१९ भदौ । नेपाल रेडक्रस सोसाइटीको ५९ औं स्थापना दिवस नेरेसो प्यूठान जिल्ला शाखामा पनि विविध कार्यक्रम गरी मनाइएको छ ।
प्रत्येक बर्ष भाद्र १९ का दिन मनाइने दिवसको यस बर्षको मूल नारा निरन्तरता भन्ने रहको थियो ।
दिवसको अवसरमा कारागार कार्यालय प्यूठानमा रहेका ७४ जना (६५ पुरुष र ९ जना) महिलाको लागि सरसफाईका सामग्रीहरु वितरण गरिएको छ ।
वितरण गरिएका सामग्रीहरुमा १/१ थान कपडा धुने साबुन,नुहाउने साबुन, कोलगेट, ब्रस, रुमाल, बिस्कुट र ५/५ वटाको दरले मास्क र ५०० मि.लि. का २ थान सेनिटाईजर रहेका छन ।
त्यसैगरी कारागारका रहेका कैदीबन्दीहरु जसले बर्षायामको समयमा झुल प्रयोग गर्न पाएका छैनन उनीहरुको आवश्यकताको आधारमा वितरण गर्ने गरी कारागार प्रशासन लाई २० थान झुल समेत उपलब्ध गराइएको छ ।
कार्यक्रमको अध्यक्षता शाखा सभापति गुमानराज पुलामी ले गर्नुभएको थियो भने प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज अर्याल रहनु भएको थियो । त्यसैगरी अतिथिहरुमा कारागार कार्यालय प्रमुख सुर्य बहादुर पन्त, जिल्ला शाखा मन्त्री दामोदर शर्मा, जिल्ला कार्यसमिति सदस्य मिना गिरी लगायत नेरेसो प्यूठान जिल्ला शाखाका पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै जिल्ला शाखा सभापति पुलामीले नेरेसो एक स्वयंसेवी भावना भएको संस्था रहेको जानकारी गराउदै नेरेसोले हरेक विपद्मा अग्रपंक्तिमा रहेर काम गर्ने गरेको स्मरण गराउनुभयो ।
साथै हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेरेसो प्यूठान जिल्ला शाखा मार्फत स्वास्थ्य सामग्री वितरण, क्वारेन्टाइन व्यवस्थापन सामग्री लगाएतका महत्वपुर्ण कामहरु गर्दै आएको समेत उल्लेख गर्नुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज अर्यालले स्थापना दिवसको अवसरमा कारागार कार्यालय प्यूठानमा रहेको कैदीबन्दीहरुको लागि सरसफाईका सामग्री वितरण कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले आगामी अन्य कार्यक्रमहरुमा पनि कारागार कार्यालयको लागि सहयोग गर्नुहुन आग्रह गर्नुभयो ।
