> समाज > राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानको नवनिर्मित भवनको उद्घाटन


राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानको नवनिर्मित भवनको उद्घाटन

प्यूठान, १६ मंसिर । मल्लरानी गाउँपालिका वडा नं ४ जिल्ला सदरमुकाम खंलगामा निर्माण गरिएको राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानको भवन उद्घाटन गरिएको छ । नवनिर्मित भवनको प्रतिनीधि सभा सांसद दुर्गा पौडेलले आज उद्घाटन गर्नुभएको हो । गत ०७२ साल असार १ गते शिलान्यास गरिएको भवनको पाँच वर्षको समयावधिमा निर्माण सम्पन्न भएको हो ।

तत्कालिन जिल्ला विकास समिति, तत्कालिन गाउँ विकास समिति, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, मल्लरानी गाउँपालिका, तत्कालिन जिल्ला प्राविधिक कार्यालय, तत्कालिन प्युठान नगरपालिका, स्थानीय पूर्वाधार विकाश कोषसंगै अन्य दाताबाट चन्दा संकलन गरी ३२ लाख १० हजार रुपियाँ लगानीमा भवन निर्माण गरिएको भवन निर्माण समिति संयोजक एवं राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानका अध्यक्ष जुमान सिंह के.सी. ले जानकारी दिनुभयो । सोही ठाउँका स्थानीय भरत कुमार श्रेष्ठले निशुल्क दिएको दुई आना जग्गामा भवन निर्माण गरिएको समेत उहाँले बताउनुभयो । विना स्रोत भवन निर्माण सुरु गर्दा त बन्ने नबन्ने अन्योल नै थियो, उहाँले भन्नुभयो,–‘निरन्तर सहयोगदाताको साथ मिल्दै गयो र पाँच वर्षको अवधिमा भवन निर्माण कार्य सम्पन्न भयो ।’

 

 

पहिले भाडामा बसेर कार्यालयको काम सम्पादन गर्दा अफ्ठेरो भएको र अबका दिनमा भवन निर्माण भएसंगै कार्यसम्पादनमा सहज भएको अध्यक्ष के.सी. ले बताउनुभयो । नवनिर्मित भवनमा एक हल सहित पाँच कोठा, शौचालय रहेको छ । ०७७ बैशाख महिनामै भवन निर्माणको काम सकेपनि कोभिड १९ का कारण उद्घाटनमा केही ढिलाई भएको उहाँले बताउनुभयो । साथै उहाँले अपाङ्गता भएका व्यक्तिका सेवासुविधा र अधिकारलाई पुर्णत कार्यान्वयनमा लैजानु अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभयो ।

 

भवन उद्घाटन गर्दै प्रतिनीधि सभा सदस्य पौडेलले अंपागता भएका तथा समाजबाट पछाडी परेका वर्गहरुको उत्थानका निम्ती सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो । सामाजिक कार्यमा सबैको साथ र सहयोग हुन आवश्यक रहेको समेत उहाँले बताउनुभयो । यो भवन निर्माणका लागि आफ्नो पहलमा पनि केही रकम सहयोग गरेको स्मरण गर्दै आगामी दिनमा पनि अंपागता भएका व्यक्तिको उत्थानका लागि सक्दो सहयोग गर्ने समेत उहाँले बताउनुभयो । संघको आफ्नै भवन बनेपछि कार्यसम्पादनमा सहज हुने विश्वास लिएको प्रतिनीधि सभा सदस्य पौडेलको विश्वास छ ।

 

उद्घाटन कार्यक्रममा प्रतिनीधि सभा सदस्य पौडेल, जिल्ला समन्वय समिति प्युठानका प्रमुख केशवराज आचार्य, मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज राना, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देविप्रसाद गैरे लगायतको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *