> समाज > वैकल्पिक माध्यममा विद्यार्थीको पहुँच पुगेन, प्यूठानमा विद्यालय खुल्न थाले


वैकल्पिक माध्यममा विद्यार्थीको पहुँच पुगेन, प्यूठानमा विद्यालय खुल्न थाले

प्यूठान, १८ भदौ । सदरमुकाम खलंगाको महेन्द्र माध्यमिक विद्यालयले आईतबारदेखि विद्यालय सञ्चालन गर्ने निणर्य गरेको छ ।

 

कोभिड-१९ का कारण विभिन्न वैकल्पिक माध्यमबाट पठनपाठन गर्दा सवै विद्यार्थीको पहुँच नपुगेको र अभिभावकको माग अनुसार विद्यालय सञ्चालन गर्न लागिएको विद्यालयले जनाएको छ ।


विभिन्न स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न लागिएको विद्यालयले जारी गरेको सूचनामा उल्लेख छ । मल्लरानी गाउँपालिकाको विहीबार बसेको शिक्षा समितिको बैठकले वैकल्पिक रुपमा पठनपाठन सञ्चालन गर्ने निणर्य गरेको शिक्षा अधिकृत बासुदेव पण्डितले जानकारी दिनुभयो ।

लामो समय विद्यालय बन्द भएका कारण विद्यार्थीको पठनपाठन र सिकाई कमजोर हुन थालेको भन्दै जिल्लामा विद्यालय खोल्न थालिएको छ । कोभिड-१९ (कोरोना) जोखिमका कारण बन्द रहेका विद्यालयमा भौतिक उपस्थितीमै पठनपाठन सुचारु गर्न अभिभावकले समेत आग्रह गदै आएपछि विद्यालय खुल्न थालेका हुन् ।

जिल्लाका नौ वटा स्थानीय तहमध्ये कतिपयले विद्यालय सञ्चालन गरिसकेका छन भने कतिपयले वैकल्पिक शिक्षण विधी अपनाएर पठनपाठनलाई नियमित रुपमा अघि बढाएका छन् । गौमुखी, झिमरुक, नौबहिनी, ऐरावती गाउँपालिकामा भौतिक रुपमै विद्यालय सञ्चालन गरिसकेका छन् ।

माण्डवी गाउँपालिकाको कार्यपालिका बैठकले भौतिक रुपमै विद्यालय सञ्चालन गर्ने निणर्य विहीबार गरेको शिक्षा शाखा प्रमुख पुणर् बहादुर केसीले बताउनुभयो । “प्रअ बैठकबाट स्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितीमै सञ्चालन गर्ने निणर्य गरेको थियो,” उहाँले भन्नुभयो, “बढीमा २५ जना विद्यार्थी राखेर भौतिक दुरी कायम गरि पठनपाठन गर्ने निणर्य कार्यपालिकाबाट भएको छ ।”

यसअघि पालिकाले वैकल्पिक शिक्षण विधी अपनाएर(मोवाईल फोन, इन्टरनेटको प्रयोगबाट) नियमित रुपमा पठनपाठन गर्ने व्यवस्था मिलाएको थियो । शिक्षा संयोजक केसीका अनुसार पालिका भित्रका २८ वटा सामुदायिक विद्यालयमा नियमित रुपमा वैकल्पिक शिक्षण भइरहेको छ ।

तस्विर माण्डवी माविकाे फेसबुक पेजबाट

झिमरुक गाउँपालिकाका शिक्षा अधिकृत मोहन विसीले वैकल्पिक विधिबाट पढाउँदा सवैको पहुँच पुग्न नसकेकाले विद्यालय सञ्चालन गरेको बताउनुभयो । विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनाइएको उहाँको भनाई छ ।

त्यसैगरी, स्वर्गद्धारी नगरपालिकाले भदौ २४ गतेदेखि विद्यालय खोल्ने निणर्य गरेको प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसीले बताउनुभयो । प्यूठान नगरपालिकाले विद्यालयको अवस्था अनुसार विद्यालय सञ्चालन गर्न सक्ने गरि निणर्य गरेको प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले बताउनुभयो ।

सरुमारानी गाउँपालिकाले यहि सातादेखि विद्यालय सञ्चालन गरेको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघसँग समन्वय गरेर विद्यालय सञ्चालन गरिएको शिक्षा अधिकृत पुष्पलाल शाहीले बताउनुभयो । “लामो समय विद्यार्थीको पठनपाठन बन्द रह्यो,” उहाँले भन्नुभयो,“अभिभावकहरुको समेत आग्रहमा विद्यालय खुलाउन थालिएको हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *