राष्ट्रियसमाज

प्यूठानमा जमिनमुनी लुकाएको अवस्थामा काठ फेला, ५ जनामाथी मुद्धा चल्दै

प्यूठान, १२ साउन । काठ तस्करको आरोपमा प्यूठानका पाँच जना व्यक्तिमाथी मुद्धा दायर भएको छ ।

सरुमारानी गाउँपालिकाको कालिवन सामुदायिक वनबाट विना स्विकृति काठ कटान गरेको आरोपमा प्यूठान जिल्ला अदालतमा मुद्धा दायर भएको हो ।

 

सरुमारानी गाउँपालिका वडा नम्वर १ बस्ने अशोक गुरुङ, द्रोण बहादुर सुनार, दुर्गा बहादुर विक सुनार, बोम बहादुर कुमाल र वडा नम्वर ३ का सन्तोष कुमार विकमाथी मुद्धा दायर भएको डिभिजन वन कार्यालय प्यूठानका सहायक वन अधिकृत दिपक केसीले जानकारी दिनुभयो ।

 

‘कालिवनमा काठ कटान भएको जानकारी प्राप्त भयो,’ केसीले भन्नुभयो,‘काठ कता गयो भनेर खोज्दै जाँदा अशोक गुरुङको घरमा माटोले पुरेर राखेको अवस्थामा फेला पर्‍यो ।’ उहाँका अनुसार ७६ थान चिरानको ४४.५५ क्युफिट सालको काठ रहेको छ ।

 

अशोकलाई पक्राउ गरि बयान लिने काम र घटनाको अनुसन्धानको क्रममा थप अन्य व्यक्ति संलग्न रहेको खुलेको केसीको भनाई छ । डिभिजन वन कार्यालयले उक्त घटनाको अनुसन्धान सम्पन्न गरि अदालतमा मुद्धा दर्ता गरेको हो । अदालतमा आरोपीहरुको बयान लिने काम भइरहेको समेत केसीले जानकारी दिनुभयो ।

Related Articles

Back to top button