प्यूठान, १८ चैत । सरुमारानी गाउँपालिकाले गाउँपालिका भित्रका विद्यालय नियमित सञ्चालन गर्ने निणर्य गरेको छ ।
सरकारले वायु प्रदुषणको कारण बालबालिकालाई असर पुग्ने भन्दै देशभरका विद्यालय शुक्रबारसम्म बन्द गर्ने निणर्य गरेपनि सरुमारानी गाउँपालिकाले विद्यालय बन्द नगर्ने निणर्य गरेको हो ।
गाउँपालिका क्षेत्रभित्र वातावरणीय असहजता सृजना नभएको, लामो समयदेखि कोभिड १९ का कारण शैक्षिक क्षति व्यहोर्नु परेको भन्दै पालिकाले विद्यालय सञ्चालन गर्ने निणर्य गरेको हो ।
मंसिर महिनादेखि मात्रै पठनपाठन नियमित बनेको र जेठ महिनामा वार्षिक परीक्षा सञ्चालन हुने भएकाले विद्यालय नियमित बनाउने निणर्य भएको शिक्षा शाखा प्रमुख पुष्पलाल शाहीले जानकारी दिनुभयो । गाउँपालिकामा २८ वटा सामुदायिक र ३ वटा संस्थागत विद्यालय सञ्चालनमा छन् ।
