राष्ट्रियसमाज

प्यूठानमा २७ हजारलाई कोरोना खोप लगाउने लक्ष्य

प्यूठान, १७ फागुन । जिल्लामा २७ हजार ११६ जना व्यक्तिलाई कोभिड-१९ विरुद्धको खोप लगाईने भएको छ ।

 

सरकारले सञ्चालन गर्न लागेको दोस्रो चरणको खोप अभियान अन्र्तगत प्यूठानमा उक्त संख्यामा खोप लगाउने लक्ष्य लिइएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताउनुभयो ।

‘यहि फागुन २३ गतेदेखि २५ गतेसम्म खोप अभियान सञ्चालन हुँदैछ,’ उहाँले भन्नुभयो, ‘जिल्लाका ६४ वटा वडामा रहेका स्वास्थ्य संस्थामा खोप केन्द्र स्थापना हुनेछन् ।’ खोप कार्यक्रमबारे जिल्लाका विभिन्न सरोकारवाला व्यक्तिलाई अभिमुखिकरण लगायतको कार्यक्रम भईरहेको छ ।

५५ वर्ष माथी उमेर समुहका नागरिक, महाविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, औषधी पसल र प्रयोगशालामा काम गर्ने कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक र अघिल्लो चरणमा छुटेका व्यक्तिलाई खोप लगाईनेछ ।

खोपको अनुगमन, सुपरिवेक्षण तथा सहजीकरणका लागि समेत विभिन्न समिति रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । कोरोना विरुद्धको खोप सुरक्षित भएकाले लक्षित समुहका सवैलाई खोप लगाउन स्वास्थ्य कार्यालय प्रमुख सुवेदीले आग्रह समेत गर्नुभएको छ ।

Related Articles

Back to top button