> राष्ट्रिय > २३ सय मिटर उचाईमा निकालियो बोरिङबाट पानी


२३ सय मिटर उचाईमा निकालियो बोरिङबाट पानी

प्युठान । गौमुखी गाउँपालिका-६ स्थित बुक्तिचौर लिवाङमा दुई हजार तीन सय मिटर उचाईमा बोरिङ प्रविधिबाट पानी निकालिएको छ । लुम्बिनी प्रदेश सरकारको बहुवर्षिय योजना अन्र्तगत बुक्तिचौर गाउँमा बोरिङ मार्फत ‘एक घर एक धारा’ आयोजना सञ्चालन गर्न लागिएको हो ।

 

“बोरिङबाट पानी निस्किएको छ,” वडा अध्यक्ष चन्द्र बहादुर खत्रीले भन्नुभयो, “पानी निस्किएपछि हामी उत्साहित भएका छौं ।” दुई सय ५० मिटर खन्दा पानी निस्किएको अध्यक्ष खत्रीले बताउनुभयो । २०५४ सालमा सञ्चालनमा आएको खानेपानी आयोजना जीणर् भएपछि गाउँमा खानेपानीको समस्या छ । गाउँभन्दा करीव १४ किलोमिटर टाढा पर्ने साइविसौनाको मुलबाट पानी ल्याइएको वडा अध्यक्ष खत्रीले बताउनुभयो ।

आयोजना निर्माणका लागि चार करोड ६५ लाख रुपियाँको लागत अनुमान गरिएको छ । गाउँका एक सय ६५ घरधुरीमा खानेपानी वितरण गर्ने लक्ष्य रहेको गाउँपालिका उपाध्यक्ष महावीर रानाले बताउनुभयो । “उक्त योजनाका लागि प्रदेश सरकारबाट बजेट सुनिश्चितता भएको छ,” उहाँले भन्नुभयो, “खानेपानीको समस्या अब समाधान हुने भएको छ ।” यस वर्ष ४० लाख रुपियाँको बजेट विनियोजन भएको समेत उहाँले जानकारी दिनुभयो ।

अब खानेपानी ट्याङ्की, पाइपलाइन वितरण लगायतका काम हुन बाँकी रहेको छ । बाँकी कामलाई छिटो अघि बढाउन स्थानीयले आग्रह समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *