सुजल श्रेष्ठ
प्युठान । मल्लरानी गाउँपालिकाले चालु शैक्षिक शत्रबाट स्थानीय पाठ्यक्रम लागु गरेको छ । पालिकाले स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक समेत छपाई गरेर पालिका भित्रका विद्यालयमा पठनपाठन शुरु गरेको हो ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख ठाकुर आचार्यका अनुसार कक्षा १ देखी ८ सम्मकै पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरेर लागु गरिएको छ । गाउँपालिका भित्र रहेका २३ वटा सामुदायिक र एउटा संस्थागत विद्यालयमा स्थानीय पाठ्यपुस्तकको पढाई हुने गरेको छ । संस्थागत विद्यालयमा कक्षा ७ र ८ मा पढाई हुन्छ,’ उहाँले भन्नुभयो,सामुदायिकमा १ देखि ८ सम्मै पढाई हुन्छ ।’
स्थानीय पाठ्यक्रममा सम्वन्धित स्थानीय तहको स्थानीय भूगोल र इतिहास, सामाजिक, राजनीतिक र शैक्षिक अवस्था, स्थानीय सरकार, आर्थिक क्रियाकलाप, स्थानीय सिप, प्रविधि र रोजगारी, स्थानीय प्राकृतिक स्रोत र साधन, स्थानीय जीवन पद्धति, कला संस्कृति, भेषभुसा, भाषा, स्थानीय विकासका पूर्वाधारहरू र विपद् व्यवस्थापन र सुरक्षा लगायतका क्षेत्र समावेश गरिएको छ ।
माण्डवी गाउँपालिकाले २०७९ देखी स्थानीय पाठ्यक्रम तयार गरेर लागु गरेको शिक्षा शाखा प्रमुख तुल्सी कार्कीले जानकारी दिनुभयो । कक्षा १ देखि ४ सम्म पाठ्यपुस्तक निर्माण भएको छ, छाप्ने तयारीमा छौं,’ उहाँले भन्नुभयो, कक्षा ५ देखी ८ सम्मको यो वर्ष लेखनको तयारीमा छौं ।’ पालिका भित्रका २६ वटा सामुदायिक र दुई वटा संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागु भएको उहाँको भनाई छ ।
केन्द्र सरकारले निर्माण गरेको पाठ्यक्रमले स्थानीय आवश्यकता र अपनत्वको सम्बोधन हुन नसक्ने भएकाले स्थानीय विषयवस्तुको मूल्यबोधको लागि स्थानीय पाठ्यक्रम मार्गदर्शन २०७६ अनुसार पाठ्यक्रम तयार पारी कार्यान्वयनमा ल्याइएका हो । नौबहिनी र सरुमारानी गाउँपालिकाले १-५ को पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरिसकेको छ भने ६-८ को निर्माणको क्रममा रहेको छ ।
गौमुखी गाउँपालिकाले कक्षा ५ को स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरेको छ । ऐरावती गाउँपालिकाले १-८ को पाठ्यक्रम बनाएर लागु गरिकसकेको छ भने पाठ्यपुस्तक छाप्ने क्रममा रहेको छ । स्वर्गद्वारी नगरपालिका, प्युठान नगरपालिका र झिमरुक गाउँपालिका स्थानीय पाठ्यक्रम बनाउने क्रममा रहेका छन् ।
