> समाज > विपन्न परिवारको घर निर्माण हुदैँ


विपन्न परिवारको घर निर्माण हुदैँ

प्यूठान, १७ माघ । गौमुखी गाउँपालिका वडा नं ७ नारीकोटका ३७ बर्षिय जीतबहादुर वि.क. ले एउटा आँखा देख्नुहुन्न । उहाँकी ३६ वर्षिय श्रीमती सिता वि.क.को दुबै खुट्टा चल्दैनन् । श्रीमान श्रीमतीको यस्तो अवस्था भएपछि परिवार चलाउन समस्या परेको छ । आर्थिक अवस्था कमजोर भएपछि यो परिवारलाई स्थानीय गाउँपालिकाले जस्तापाता दिएपनि घर निर्माण गर्न सकेनन् । जीतबहादुरको परिवार जस्तापाताले बारेको बुकुरोमा जीविका चलाउदै आएका थिए ।

जीतबहादुरको परिवारको यस्तो अवस्था देखेपछि यस क्षेत्रका स्थानीयले अभियाननै चलाएर घर निर्माण अभियान थालेका छन् । जीतबहादुरकै जग्गामा घडेरी खारी घर निर्माणको कार्य समेत थालनी गरिएको छ। पुष १४ गतेदेखी घर निर्माणको कार्य थालनी गरिएको अभियान्ता एवं स्थानीय विकास गुरुङ्गले बताउनुभयो । उनीहरुको धनसम्पती, लत्ताकपडा केही पनि छैन्, गुरुङ्गले भन्नुभयो,–‘ उनीहरु झुपडीमा बस्दै आएका थिए ।’ उनीहरुको यस्तो विचित्र अवस्था देखेपछि घर निर्माणको अभियान थालिएको उहाँले बताउनुभयो ।

 

देश तथा विदेशमा रहनुभएका नेपालीहरुलाई सहयोगका लागि आग्रह गर्दै आर्थिकको जोहो गरिएको छ । स्थानीय सरकार गरिबीको घरसम्म नपुगेको र जीतबहादुरको परिवार यो चिसोमा झुपडीमा बसिरहेको देखेपछि घर निर्माणको अभियान थालिएको गुरुङ्गले बताउनुभयो । जीतबहादुरको घर निर्माणका लागि स्थानीय ९ जना अभियान्ताहरुले विभिन्न क्षेत्रबाट आर्थिक जुटाएका छन् । जीतबहादुरको परिवारका लागि शौचालय सहितको ४ कोठे घर निर्माण हुन लागेको अभियान्त गुरुङ्गले बताउनुभयो । उक्त घर निर्माणका लागि तीन लाख रुपियाँ स्टिमेट भएको र सोही अनुसारको रकम संकलनका लागि प्रतिवद्धता जनाउनुका साथै रकम संकलन समेत भएको उहाँको भनाई छ।

 

जीतबहादुरका ६ वर्षको छोरी र ३ वर्षका छोरा रहेका छन् । आफ्नो परिवारको यस्तो अवस्था देखेर अभियान्ताहरुले घर निर्माणका गर्न लागेकोमा जीतबहादुरले खुसी व्यक्त गर्नुभयो । स्थानीय सरकारले जस्तापाता दिएपनि घर निर्माण गर्न नसकेको अवस्थामा अभियान्ता मार्फत आर्थिक संकलन गरी घर निर्माणको थालनी गरेकोमा उहाँले खुसी व्यक्त गर्नुभएको हो । जीतबहादुरको परिवारका लागि फागुनको पहिलो हप्तासम्म निर्माण सम्पन्न गरी परिवारलाई हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।

 

यस पूर्व गुरुङ्ग सहितका अभियान्ताहरुले विभिन्न क्षेत्रबाट आर्थिक संकलन गरी १४/१५ जना बिरामीलाई उपचार गरी बचाउन समेत सफल भएको गुरुङ्गले बताउनुभयो । त्यस्तै यस पूर्व अभियान मार्फत अमृत माध्यामिक विद्यालय नारीकोटलाई १८ लाख रुपियाँ बराबरको कम्प्युटर, सिसी क्यामरा समेत सहयोग गरेको उहाँले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएकै कारण समाजमा बिरामी परेका विपन्न परिवारलाई हामीहरुले अभियान मार्फत सहयोग गर्ने समेत गुरुङ्गले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *