प्यूठान, २२ मंसिर ।
समयमै काम सम्पन्न नगरी योजना अलपत्र पार्ने निर्माण कम्पनीलाई कार्वाही गर्ने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले चेतावनी दिनुभएको छ ।
सडक पुर्वाधार विकास कार्यालय रोल्पा मार्फत सम्झौता भई अलपत्र परेका तीन वटा योजना समयमै सम्पन्न गर्न उहाँले निर्देशन दिनुभएको हो ।
ठेकेदार कम्पनीका प्रतिनिधिलाई सोमवार आफ्नै कार्यकक्षमा बोलाई उहाँले काम सम्पन्न नगरे कार्वाही गर्ने चेतावनी दिनुभयो । ठेक्का भएका योजनाहरु समयमै सम्पन्न नहुँदा समृद्ध नेपाल निर्माणको सरकारी अभियाननै प्रभावित हुने प्रजिअ भुसालको भनाई थियो ।
प्यूठान बाग्दुला–बहाने–स्याउलिवाङ सडक खण्डमा सडकको निर्माणको कामको जिम्मा पाएको महत ममता जेभिले काम छोडेर सडक निर्माण अलपत्र पारेको छ । यो सडक २०७६ असारमा सम्पन्न गर्नुपर्ने ५० लाख लागतको योजना हो । तत्काल काम सुचारु नगरे कार्वाही प्रक्रिया अघि बढाउन प्रजिअ भुसालले कार्यालयलाई निर्देशन दिनुभयो ।
यस्तै २०७७ असारमा काम सम्पन्न गर्नुपर्ने बालुवा खोला पक्की पुलको शुरु नै भएको छैन । २ करोड ५४ लाख लागतको २० मिटरको पक्की पुल योजनाको ठेक्का जिम्मा हरिहर निर्माण सेवा काठमाण्डौंले पाएको हो । ‘एकापट्टीको दुई लिएर खुट्टा राख्ने काम गरेर योजना अलपत्र परेको छ ।’ ,स्थानीय पदम प्रताम जि.सी.ले आक्रोस पोख्नुभयो ।
पूmलवारी लामासेरा झोलुङ्गे पुल निर्माणको ठेक्का लिएको विराट कन्ष्ट्रक्सनले २०७७ असारमा सम्पन्न गर्नुपर्ने योजना सम्पन्न हुन सकेको छैन । तत्काल काम सुचारु गर्ने निर्माण कम्पनीहरुले प्रतिवद्धता जनाएका छन् ।
तीन वटा योजनामा कार्यालयले पटक पटक ताकेता गर्दा समेत कुनै प्रगति नभएपछि छलफल बैठक राखिएको सडक पुर्वाधार कार्यालय रोल्पाका निमित्त प्रमुख नविन श्रेष्ठले बताउनुभयो । योजनाको काममा प्रगति नभए कार्यालयले ठेक्का सम्झौता रद्ध गर्ने लगायतका कानुनी प्रक्रियामा अघि बढाउने उहाँले बताउनुभयो ।
यस्तै निर्माण सकिएको १५ महिना बितिसक्दा पनि विद्युत सबस्टेसन संचालनमा आउन नसकेको समाचार सार्वजनिक भएसँगै आफ्नो ध्यानाकर्षण भएको प्रजिअ भुसालले बताउनुभयो । आउने शुक्रवार निर्माण कम्पनीका प्रतिनिधिलाई बोलाई यस बारे निर्णय लिने उहाँले जानकारी दिनुभयो ।