प्यूठान, ३० असार । मल्लरानी गाउँपालिका–४ स्थित भैरवनाथ प्राथमिक विद्यालयका शिक्षक गाउँका टोल टोलमा पुगेर आफ्ना विद्यार्थीलाई गृहकार्य दिन्छन् । कोरोना सङ्क्रमणले गर्दा क्वारेन्टाइन बनेका विद्यालय अझै सञ्चालनमा नआएपछि शिक्षक विद्यार्थीका घरमा पुग्न थालेका हुन् ।
करीव एक महिना देखी यस विद्यालयका शिक्षकले यसरी विद्यालयका विद्यार्थीलाई टोल टोलमा जग्गा पारेर अध्यापन गराउदै आएक छन् । कोरोनाले शैक्षिक क्षेत्रमा पारेको प्रभावबाट बालबालिकाको शैक्षिक सिकाईलाई कमी हुन नदिन विद्यालयले यस्तो उपाय अपनाएको हो ।
‘विद्यालय क्षेत्रभित्रका टोल टोलमा पुगेर अध्यापन गराउन थालेका छौं,’ प्रधानाध्यापक मधुसुदन खड्काले भन्नुभयो,‘विद्यार्थीलाई उनीहरुकै घर नजिक जम्मा गरेर पठनपाठन सञ्चालन गर्दै आएका छौ’ं । विद्यालय क्षेत्रभित्र पर्ने पाण्डेडाँडा गाउँमा तीन वटा समुह बनाएर अध्यापन गराउँदै आएको प्रधानाध्यापक खड्काले जानकारी दिनुभयो ।
विद्यालयमा ५० जना बालबालिका अध्ययनरत छन् । विद्यालयमा तीन जना स्थायी शिक्षक रहेका छन् । सातामा चार दिन आइतबार, सोमबार, बुधबार र विहीबार अध्यापन गराउने गरिएको छ । विद्यार्थी घरमा बस्दा पढाई विग्रिएको अभिभावकले गुनासो गरेपछि यस्तो विधि अपनाएको प्रअ खड्काको भनाई छ ।
सवै बालबालिकालाई घरघरमा पुगेर यसअघि पाठ्यपुस्तक पु¥याइएको छ । पाठ्यपुस्तकको आधारमा विद्यार्थीलाई गृहकार्य दिने, जाँच गर्ने र पुनः गृहकार्य दिने गरिएको छ । जसले गर्दा बालबालिकाले घरमै बसेर अध्ययन गर्न थालेको अभिभावकले बताएका छन् ।
