स्थानीय सरकारराष्ट्रियसमाज

सरकारी कृषि कार्यक्रमले छुन नसकेको प्यूठानका ‘भेडिगोठ’

प्यूठान, १२ कात्तिक । गौमुखी गाउँपालिका वडा नं. ३ रजबाराका भविराम घर्तिमगरको घर रजबाराको दहबसेमा पर्छ ।

तर हरेक वर्षको फागुन देखि मंसिर महिनासम्म घरदेखि टाढा रजबाराकै मेलवासमा बस्नुहुन्छ । १० महिना यहाँ बस्नुको एक मात्र उदेश्य हो, पशुपालन ।

उहाँको भेडीगोठमा एक सयको हाराहारीमा भेडाबाख्रा छन् । गोठबाटै विक्री हुने भएकाले ग्राहक खोज्न समेत बजार जानु नपर्ने उहाँको भनाई छ । अहिले विद्यालय बन्द भएपछि गोठमा नाती समेत बस्दै आएका छन् ।

भविराम मात्र होइन, उत्तरी प्यूठानको स्याउलिवाङ, अर्खा, रजबाराका स्थानीय घरभन्दा टाढा गोठ बनाएर पशुपालन गर्ने गर्दछन् । स्थानीय भाषामा यस्तो गोठलाई ‘भेडिगोठ’ भनिन्छ । पुस माघमा धेरै चिसो हुने भएकाले दुई महिना भने पशुचौपाया घर ल्याउने गर्दछन् ।

घाँसको सहजताका लागि जंगल छेऊमा गोठ बनाएर पशुपालन गर्ने गरेको भविरामले बताउनुभयो । ‘घरमा राख्दा बालीनाली, खर खाईदिन्छन् ।’ ,उहाँले भन्नुभयो, ‘जंगल छेऊमा भेडा बाख्रा पाल्न सजिलो हुन्छ ।’

यहाँका स्थानीयले पुस्तौदेखि भेडि गोठमा सयौंको संख्यामा भेडा, बाख्रा, खसि–बोका, गाई भैंसी पाल्ने गरेका छन् । कति परिवार पशुपालनमा आश्रित छन् भन्ने एकिन तथ्यांक नै नभएपनि यहाँका अधिकांस किसान पशुपालनका लागि भेडिगोठ राख्ने गरेका छन् । उनीहरुको जिविकोपार्जन मुख्य आय श्रोत नै, यहि पशुपालन हो ।

पशुपालनमा आधुनिकिकरणका चर्चा शहर बजारमा हुने गरे पनि ग्रामीण क्षेत्रका पशुपालक किसान परापुर्वकाल देखिनै यसरी पशुपालन गर्दै आएको रजवाराका सामाजिक अगुवा गोर्वधन थापाले बताउनुभयो । जंगल छेऊको भेडिगोठको सुरक्षाका लागि कुकुर समेत राख्ने गर्दछन् । कुकुरले जंगली जनावर(चितुवा लगायत) को आक्रमणबाट जोगाउने काम गर्छ ।

कृषि तथा पशुपालन क्षेत्रमा सरकारले विभिन्न सेवा सुविधाहरु दिने गरे पनि ग्रामीण क्षेत्रका पशुपालक किसानहरु त्यसबाट भने अहिलेसम्म बन्चित छन् । उनीहरुले अनुदानका सूचनाहरु समेत थाहा पाउँदैनन् । पशुपालनमा अनुदान पाईन्छ भन्ने नै थाहा छैन । पशु विरामी हुँदा यहाँका किसान अहिले पनि घरेलु उपचार मै निर्भर छन् ।

भेडिगोठ बनाई सयौंको संख्यामा पशुपालन गर्ने किसानलाई लक्षित गरि सेवा प्रदान गर्ने सरकारी योजना नै नभएको यस क्षेत्रका अगुवा तथा नेपाल पत्रकार महासंघ प्यूठान शाखाका अध्यक्ष महावीर रानाले बताउनुभयो । ‘सरकारी अनुदानका कार्यक्रम पहुँचवालामा सिमित छ ।’ ,उहाँले भन्नुभयो, ‘१०÷२० बाख्रा देखाएर धेरै निकायबाट एउटै योजनामा अनुदान लिने गरेका छन् ।’ ग्रामीण क्षेत्रका किसान अनुदान कार्यक्रमबारे अनविज्ञ रहेको उहाँको बुझाई छ ।

प्यूठानमा रहेका भेडिगोठहरुलाई व्यवस्थित गर्न सकेमा खसि–बोकामा जिल्ला आत्मनिर्भर बन्ने सम्भावना छ । व्यवस्थित गोठहरु निर्माण, उन्नत जातका बाख्रा तथा विऊ बोका सहयोग, औषधि उपचारमा मात्र सहयोग पुगेमा जिल्लाबाट निर्यात समेत गर्न सकिन्छ ।

Related Articles

Back to top button