> समाज > प्यूठानमा ३० जना क्वारेन्टाइनमा


प्यूठानमा ३० जना क्वारेन्टाइनमा

प्यूठान, चैत १४ गते ।

प्यूठानमा कोरोना सङ्क्रमणको जोखिम घटाउन भारतबाट आएका ३० जना व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । स्वर्गद्धारी नगरपालिका र ऐरावती गाउँपालिकामा क्वारेन्टाइनमा व्यक्तिहरु बसेका छन् ।

ऐरावती गाउँपालिकामा १६ जना क्वारेन्टाइनमा बसेका छन् । स्वास्थ्य संयोजक राममाया गुरुङका अनुसार मोति माध्यमिक विद्यालय बरौलामा बनाइएको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको छ । पहिले पाँच वेडको क्वारेन्टाइन बनाएका थियौं, उहाँले भन्नुभयो, पछि थपेर बढाएका छौं । क्वारेन्टाइनमा बसेकालाई स्थानीय पालिकाले खानाको व्यवस्था समेत गरेको उहाँले जानकारी दिनुभयो । नजिकैका होटलहरुबाट प्याक गरेर खाना पु¥याउने गरिएको हो ।

स्वर्गद्धारी नगरपालिका स्वास्थ्य संयोजक दलबहादुर केसीका अनुसार १४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । सम्वन्धित वडा कार्यालयमा बनाइएका क्वारेन्टाइनमा उनीहरु बसेका छन्, केसीले भन्नुभयो, खानाको व्यवस्था घरपरिवारबाटै भएको छ । बस्ती नजिकै क्वारेन्टाइन भएकाले समेत खानाको व्यवस्था परिवारबाट गरिएको उहाँले बताउनुभयो । हामीले बस्न र सरसफाईमा ध्यान दिएका छौं, उहाँले भन्नुभयो, अरुलाई घरमै क्वारेन्टाइनको रुपमा बस्न भनेका छौं । नगरपालिकामा ६९० जना बाहिरबाट आएको तथ्याङ्क रहेको छ । ती व्यक्तिलाई घरमै बस्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

जिल्लाभर १६३ बेडको क्वारेन्टाइन निर्माण भएको र थप विस्तार हुने क्रममा रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले जानकारी दिनुभयो । जिल्लाभर बाहिरबाट आएका व्यक्तिको तथ्याङ्क लिने काम भएको उहाँले बताउनुभयो । सम्वन्धित स्थानीय तहले तथ्याङ्क सङ्कलन गर्ने र पूर्व तयारी अन्र्तगत क्वारेन्टाइन बनाउने कार्य जारी राखेका छन् ।

गौमुखी गाउँपालिकाले पूर्ण प्रावि सालिबिसौना, झिमरुक गाउँपालिकाले बालशिक्षा मावि ओखरकोट, मल्लरानी गाउँपालिकाले साविकको महिला तथा बालबालिका कार्यालय, नौबहिनी गाउँपालिकाले गंगा मावि बाहानेमा क्वारेन्टाईन निर्माण गरेका छन् ।

त्यस्तै माण्डवी गाउँपालिकाले भवानिश्वरी आधारभुत विद्यालय र सभाहलमा, सरुमारानी गाउँपालिकाले रानिकुवा स्थित सभाहल र प्यूठान नगरपालिकाले कालिका विकास केन्द्र नेपालको सभाहलमा क्वारेन्टाइन निर्माण गरेका हुन् । नगरपालिकाले नेपाली सेनाको सहयोगमा खेलकुद मैदान विजुवारमा २५ वटा टेन्ट राखि क्वारेन्टाईन बनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *