कृष्णराज पाण्डेय
प्युठान । ०७९ बैशाख १ गते नयाँ वर्षको दिन भ्रमण गएको गाडी स्वर्गद्वारीमा दुर्घटना भयो । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी चढेको उक्त गाडी दुर्घटनामा प्युठानका सन्दिप परियार पनि घाईते हुनुभयो । मल्लरानी गाउँपालिका-३ चौरपानीको दलित परिवारबाट पहिलो पटक एसईई उत्र्तिण गरि विज्ञान शंकायबाट स्नातक अध्ययन गर्दै गर्दा सन्दिप निजामती सेवामा प्रवेश गरेपछि परिवारमा खुशियाली छाएको थियो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा नायव सुब्बामा कार्यरत सन्दिप दुर्घटनाबाट सक्त घाईतेभएपछि काठमाण्डौमा उपचारको शिलशिलामा मृत्यु भयो । अनि परिवारमा छाएको खुशी टिकिरहन सकेन । उक्त घटनापछि ६० वर्षीय बुबा नारायण बहादुर परियार छोराको पीरले गल्नुभयो । विरामी भएपछि भैरहवा मेडिकल कलेजमा उपचारका लागि पुर्याईयो ।

तर, भदौ ३ गते नारायण बहादुर परियारको निधन भएको छ । उहाँको निधनपछि परिवार शोकमा छ । श्रीमती र दुई छोरी किरिया बसेका छन् । छोरी मधु परियार र प्रमिला परियारले गरेका छन् । नारायणका श्रीमती राधिकाले दुई जना छोरीको विवाह भईसकेको र दुई छोरी बुटवलमा अध्ययन गर्दै आएको जानकारी दिनुभयो । ‘बाँच्ने आधार हराएको छ,’ राधिकाले भन्नुभयो,‘अव यी छोरीको पढाई कसरी गर्ने होला ?’
आर्थिक रुपमा कठिन अवस्थाबाट गुज्रिदै आएको परिवारलाई पुनः पुरानै अवस्थामा पुर्याएको छ । आगामी दिन कसरी विताउने ? बाँकी पढाई कसरी पुरा गर्ने ? परिवार कसरी चलाउने ? यी र यस्तै प्रश्नहरु मनमा राखेर राधिका, मधु र प्रमिला किरिया भित्र छन् ।
